

प्रमोद प्रधान
बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा प्रमोद प्रधान पुन: चयन हुनुभएको छ ।
शनिबार (साउन ९) भर्चुअल माध्यमबाट भएको विशेष साधारण सभाबाट प्रधानलाई पुनः अध्यक्षमा चयन गरिएको निर्वाचन समितिका संयोजक प्रा रामकुमार पाँडेले जानकारी दिनुभयो ।
केन्द्रको उपाध्यक्षमा विजयराज आचार्य पुन: दोहोरिनु भएको छ ।
महासचिवमा अनन्त वाग्ले चयन हुनुभएको छ । यसअघि महासचिवमा कलाकार एकराम सिं हुनुहुन्थ्यो । कोरोना संक्रमणका कारण सिंको निधन भएपछि रिक्त रहेको ठाउँमा यसअघिका कार्यसमिति सदस्य वाग्लेलाई चयन गरिएको हो ।
यसैगरी सचिवमा मञ्जु ज्ञवाली र कोषाध्यक्षमा शान्ति सापकोटा दोहोरिनु भएको छ ।
बालबालिकाका क्षेत्रमा साहित्य सिर्जना र अनुसन्धानमा लाग्नुभएका केन्द्रको सदस्यहरूमा तारानिधि भट्टराई, रवीन्द्र मानन्धर, केदार श्रेष्ठ र नेत्र तामाङ चयन भएका छन्। निर्वाचन समितिका सदस्यहरुमा संयोजक केन्द्रका सल्लाहकार पाँडेसहित सल्लाहकारहरू प्रा.डा. चुडामणि बन्धु, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य हुनुहुन्थ्यो । २०६९ मा स्थापना भएको यस संस्थाको संस्थापक अध्यक्ष दिवंगत विनय कसजु हुनुहुन्थ्यो। संस्थाले बालबालिकाका लागि कथा लेखन लगायतका कार्याशाला गर्दै आएको महासचिव वाग्लेले जानकारी दिनुभयो।
अध्यक्षमा दोहोरिएसँगै कोरोनाका कारण रोकिएका कामलाई निरन्तरता दिने र बाँकी योजनाहरू तय गरिने अध्यक्ष प्रधानले बताउनुभएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

