कोरोना महामारी हाम्रो युगको अनौठो र विस्मयकारी घटना हो । यसले डेढ वर्षदेखि विश्वलाई नै आतंकित पारिरहेको छ । यसकै कारण हामी पटकपटक घरभित्र बसिरहेका छौँ । अत्यावश्यक परेर बाहिर निस्किँदा पनि फिक्री लिएर हिँड्नुपरेको छ ।
जीवनमा भोगिएका अनौठो, त्रासयुक्त र अविष्मरणीय यो परिघटनालाई अनुभूति गर्ने शैली मान्छेपिच्छे फरक होलान् । पत्रकार विनोदबाबु रिजालले भने ठीक एक सालअघि किताबका रूपमा यी अनुभूतिलाई लिपिबद्ध गर्नुभयो । गत वर्ष साउन ३ गते सार्वजनिक गरिएको किताबले एक साल पूरा गरेको छ ।
युरेका पब्लिकेसनले प्रकाशन गरेको र सम्पूर्ण किताबले देशभर वितरण गरेको लकडाउन डायरी ‘एकान्तवास’ले एक वर्ष पूरा गरेको अवसरमा आइतबार नारायणगढमा छलफल कार्यक्रम गरियो । सम्पूर्ण किताबले आयोजना गरेको कार्यक्रममा लेखक, पत्रकार तथा समीक्षकहरू भेला हुनुभयो । “जीवनको यो अनौठो घटनालाई दस्ताबेजीकरण गर्नु महत्त्वपूर्ण काम हो”, पत्रकार रमेशकुमार पौडेलले भन्नुभयो, “यो पुस्तक जति पुरानो हुँदै गयो, उति नै महत्त्वपूर्ण बन्नेछ ।”
पौडेलको टिप्पणीमा सहमति जनाउँदै पत्रकार राजेश घिमिरेले भन्नुभयो, “किताब आउनेबित्तिकै खास महत्वपूर्ण लागेको थिएन । तर, यसपालि कतिपय समाचार लेख्नेबेला यसमा समेटिएका तथ्यहरूले मलाई सहयोग गरे ।” उहाँले आफ्नो पुस्तकालयमा एकान्तवास समेट्नैपर्ने बताउनुभयो ।
पत्रकार तथा लेखक वसन्त पराजुलीले एकान्तवास अनुभव किताबका रूपमा आउनु उल्लेख्य काम भएको बताउनुभयो । “तर, कतिपय व्यक्तिगत घटनाका कुरा बाहिर नल्याएको भए पनि हुन्थ्यो भन्ने चर्चा भएको सुन्छु”, उहाँले भन्नुभयो, “मलाईचाहिँ डायरीमा व्यक्तिगत कुरा आउनु स्वाभाविकै लाग्छ ।” अर्का पत्रकार तथा लेखक सूर्यप्रकाश कँडेलले, “विषयवस्तु र तथ्यका हिसाबले किताब सशक्त छ” रहेको बताउनुभयो ।
चितवन पोष्ट दैनिकका सम्पादक प्रकाश अर्यालले किताब तथ्य र विषयगतरूपमा बलियो भए पनि अर्को संस्करण ल्याउँदा परिमार्जनसहित पुनर्लेखन गर्नुपर्ने टिप्पणी गर्नुभयो ।
समीक्षक उदय अधिकारीले पत्रकारसँग विषयवस्तु पर्याप्त हुने तर त्यसलाई किताबका रूपमा सबैले ल्याउन नसक्ने भनी चर्चा गर्नुभयो । “तर, चितवनका पत्रकारहरू सशक्त लेखकका रूपमा अगाडि आइरहेका छन्,” पत्रकार लेखकका रूपमा अगाडि आउँदा पत्रकारिता भने मर्न नहुने उहाँको धारणा थियो ।
लेखक विनोदबाबु रिजालले इतिहासलाई दस्ताबेजका रूपमा प्रस्तुत गर्न एकान्तवास लेखिएको र आफूहरूको उद्देश्य धेरै हदसम्म सफल पूरा भएको भनी सन्तुष्टि जनाउनुभयो । प्रकाशक युरेका पब्लिकेसनका प्रबन्ध निर्देशक लेखराम सापकोटाले सो अवसरमा लेखक रिजालको एकान्तवास–२ प्रकाशन गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा पत्रकार दीपेन्द्र अधिकारी, निर्दोष जीवन, अर्जुन अधिकारी, तुलमान गुरुङ, नेत्र गुरुङ, माया घोताने, रञ्जना लिम्बु, तपस्या उपन्यासका लेखक आकाश पौडेल, अविरल यात्रीलगायतले किताबका विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।
एकान्तवास विनोदबाबु रिजालको पहिलो पुस्तक हो । उहाँ स्थानीय कायाकैरन दैनिकका सम्पादक पनि हुनुहुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।