विद्यावारिधि शोध–अध्ययन गरिरहेका लेखक दीपक चौधरीले पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखेका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक गरियो ।
चौधरीका राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् । उनका ‘नेपालको मधेशी समाज’, ‘तराई–मधेश अफ नेपाल: एन्थ्रोपोलिजकल स्टडिज’ तथा ‘रुपान्तरण’ जस्ता पुस्तक प्रकाशित भइसकेका छन् ।
आइतबार साहित्यकार रामदयाल राकेश, निबन्धकार दीपक सापकोटा, कवि निर्भीकजंग रायमाझी र लेखक दीपक चौधरीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभयो ।
पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएका छन् ।
‘पूर्वी एसियाको आँखिझ्याल’ मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो ।
२०८ पृष्ठको यो पुस्तकको मूल्य ३ सय ९९ रुपैयाँ रहेको छ भने प्रकाशक ‘इन्डिगो–इन्क’ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।