साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

एकै घरमा साहित्यका चार पुस्ता

Chovar Blues Mobile Size

साहित्यमा लाग्नु अनुत्पादक मानिने नेपाली समाजमा एउटा यस्तो परिवार पनि छ, जसका चार पुस्ता नै साहित्यमा सक्रिय छन् । रमेश विकलदेखि सुरु भएको यो यात्रा उनकी पनातिनी आयुषा चालिसेसम्म जारी छ ।

विक्रम सम्बत् १९८५ मा आरुबारी काठमाडौँमा जन्मिएका रमेश विकल, २००८ सालमा जन्मिएका उनका छोरा विजय चालिसे, २०३१ सालमा जन्मिएका विजयका छोरा आलोक चालिसे र २०६६ सालमा जन्मिएकी आलोककी छोरी आयुषा गरी चार पुस्ता साहित्यमा सक्रिय छन् ।

‘हामीलाई कसैले साहित्यमा लाग भनेको होइन, हामी जन्मजात नै साहित्यका पारखी भएका हौँ,’ हाल टोकियोमा बसोबास गरिरहेका रमेश विकलका नाति आलोक चालिसेले साहित्यपोस्टसँग भने, ‘म पनि बुबा र हजुरबुबाको संगतमा साहित्यकार भएँ । मेरी छोरी पनि अाजभाेलि स्वतः कथा–कविता लेख्न थालेकी हुन् ।’

रमेश विकलले राणाकालमै हस्तलिखित पत्रिकामार्फत साहित्य साधना गर्न थालेको देखिन्छ । उनले २०१८ सालमा पाण्डुलिपि अवस्थामै ‘नयाँ सडकको गीत’का लागि मदन पुरस्कार प्राप्त गरेका थिए । उनका कथा, उपन्यास, यात्रा साहित्य, संस्मरण, व्यङ्ग्य र आख्यान गरी ५५ कृति प्रकाशित छन् । विकल साहित्यका अतिरिक्त संगीत, वाद्यवादन र चित्रकलामा समेत पोख्त थिए । प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका उनका मृत्युपर्यन्त साहित्यिक कृतिहरु प्रकाशन भइरहेका छन् ।

विकलका छोरा विजय चालिसेले बुबाकै पथमा लागेर पहिलो कथा ‘आँशुमा रुझेको जीवन’ २०३० सालमा प्रकाशित गराए । त्यसयता आज पर्यन्त उनका कृतिहरु प्रकाशन भइरहेका छन् । बुबाको सामीप्यमा रहेका सबै साहित्कारको संगतको प्रतिफल विजयले प्राप्त गरे ।

उनको जासुसी उपन्यास ‘होटल राँकीमा हत्या’ पहिलो तर फरक उपन्यास थियो । उनले आख्यानका अतिरिक्त संस्कृतिसम्बन्धी गैरआख्यानका पुस्तक पनि लेखेका छन् । चालिसेका अहिलेसम्म ४९ वटा कृति प्रकाशित भैसकेका छन् । २०३७ सालमा गोरखापत्र संस्थानमा सहायक सम्पादकबाट सुरु भएको जागिरे जीवनमा उनले मधुपर्क, युवामञ्च, मुना जस्ता पत्रिकाको सम्पादन गरेका थिए । उनी सेवा निवृत्त हुनुअघि गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षसमेत भएका थिए । अहिले उनी रमेश विकल साहित्य प्रतिष्ठानमार्फत साहित्यको संस्थागत विकासमा लागेका छन् ।

विजयका छोरा आलोक चालिसे रमेश विकलको काखमा हुर्केका कारण नेपालका सबै पाका साहित्यकर्मीको माया पाउँदै हुर्किए । रमेश विकलका बालकथाहरुमा यिनै आलोकका धेरै बाल्यकालीन कार्यहरु वर्णन गरिएको छ ।

sagarmani mobile size

आलोकको साहित्यको सुरुवात बालक, मुना, किशोर र कोपिला पत्रिकाहरुबाट सुरु भएको हो । उनमा हजुरबुबाका चित्रकारिताको पनि प्रभाव परेको छ । उनले धेरै बालपत्रिकाहरुमा चित्राङ्कन पनि गरेका छन् ।

यही चित्रकारिताको प्रभावमा एनिमेसनसम्बन्धी अध्ययन गर्न जापान पुगेका आलोक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरका सबैजसो पदमा रहेर काम गरे । उनले सन् २००७ मा टोकियोमा पानी रङको एकल चित्रकला प्रदर्शनी गरे ।

बाल्यकालदेखि नै उनका कृतिहरु सबैजसो पत्रिकाहरुमा छापिएका छन् । हाल उनी आफ्नो बुबा, आफू र छोरी गरी तीन पुस्ताले लेखेका कथाहरुको संग्रह प्रकाशनको तयारी गरिरहेका छन् । ‘हुन त चार पुस्ताकै रचना एक ठाउँमा राखेर पुस्तक प्रकाशन गरौँ कि भन्ने पनि सोच आएको छ,’ उनले भने ।

यता आलोककी छोरी आयुषा चालिसेको जन्मका बारेमा पनि रोचक तथ्य छ । उनी सात महिनाकी गर्भे रहँदा उनका बाबुआमाले उनको जन्म नेपालमा नै होस् भनी ल्याएका थिए । त्यसैले उनी नेपालमा नै जन्मिइन् । यसको केही समयपछि उनले जापानको टोक्योमा नै शिशुकाल बिताइन् भने अक्षर आरम्भ पनि गरिन् । जापानी शिशु स्याहार केन्द्रमा उनको पढाइ सुरु भए पनि घरको साहित्यिक वातावरणले नेपाली वर्णमालाका अक्षर चिनेकी हुन् । केही वर्षयता भने उनी नेपालमा नै रहेर अध्ययन गरिरहेकी छन् ।

‘राति सुत्ने बेलामा लोरी सुनाउँदासुनाउँदै उनमा साहित्यको रस पसेको थाहै भएन,’ चौथो पुस्तामा साहित्यिक रस पलाएकोमा अनौठो मान्दै आलोक भन्छन्, ‘जापानमै भए पनि हामी फुर्सद हुँदा साहित्यकै कुरा गर्थ्यौँ । सानैदेखि यही कुरा सुन्दासुन्दै उनमा पनि लेखन कला विकसित भएको रहेछ ।’

छोरीको लेखन मोह र नेपाली भाषालेखनको वातावरण दिलाउन आलोकले उनलाई नेपालकै विद्यालयमा पढाइ सुचारु गराएका हुन् । नेपाल आएपछि आयुषाको लेखनकला अझ विकसित भएको उनका बुबा आलोक बताउँछन् । पछिल्लो समय उनी गोरखापत्र संस्थानको मुनामा नियमित लेखिरहन्छिन् ।

प्रतिक्रिया
Loading...