अठतीसाैँ चरणकाे मुक्तक प्रतियोगिताका लागि साहित्यपोस्टले मुक्तक आह्वान गरेकाे छ । सैँतीसाैँ चरणकाे मुक्तक प्रतियोगिताकाे नतिजा प्रकाशित गरिएसँगै अठतीसाैँ चरणका लागि मुक्तक आव्हान गरिएकाे हाे ।

यसअघि यस प्रतियोगिताका ३७ चरणहरू लक्ष्मणप्रसाद गाैतमकाे नेतृत्वमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

यस चरणमा मुक्तकका लागि कुनै विषय ताेकिएकाे छैन, तर मुक्तकहरू समसामयिक विषयमा रहेर लेखिएकाे भने हुनुपर्ने छ । मुक्तककारहरूले स्वतन्त्र रूपमा समसामयिक तीन फरक विषयमा मुक्तक रचना गरी प्रतियोगितामा सहभागिता जनाउन सक्नुहुनेछ ।

एक पटक विजयी भइसक्नुभएका मुक्तककारहरूलाई पुनः प्रतियोगितामा समावेश गरिने छैन, तर अप्रतियोगीका रूपमा पनि प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ ।

साहित्यपोस्टका अनुसार प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिनेछ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको सङ्गालो प्रकाशन गरिने छ ।

त्यसैगरी पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ । साथै, उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ ।

गाैतमकाे नेतृत्व मण्डलमा मुक्तकमणि तीर्थराज, समालाेचक ज्ञानु अधिकारी तथा साहित्यपाेस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएकाे छ ।

त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएकाे छ । त्यस्तै, नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ ।

राजनीतिशास्त्रमा स्नातकाेत्तर गर्नुभएका तीर्थराज अधिकारीका जूनकीरी, तीन लय तेह्र गीत, झटाराे, याे कस्काे हात हाे ? लगायत कृतिहरू प्रकाशित छन् । त्यस्तै उहाँका कथा, गीत, कविता, समसामयिक लेख तथा मुक्तकहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन् । विद्यार्थीकालमा राजनीतिक मुद्धामा ६ महिना जेल सजाय भाेग्नुभएका अधिकारी मुक्तकमणिकाे विशेषणबाट विभुषित हुनुहुन्छ ।

समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएकाे छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्ये एक हुनुहुन्छ ।त्यस्तै, निशा केसी साहित्यपाेस्टकी मुक्तक सम्पादक हुनुहुन्छ ।

नियम यसप्रकारका छन्ः

— सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
— मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ ।
— प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक-एक नम्बर प्राप्त गर्नेछन् ।
— पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन ।
– एकपटक पुरस्कृत भइसकेका मुक्तककारलाई प्रतियोगितामा समावेश गरिने छैन । 
— यसअघि अनलाइन, छापा वा स्मारिकाहरूमा प्रकाशन भइसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् ।

मुक्तक प्रतियोगिताकाे अठतीसाैँ चरण अहिल्यैबाट सुरु भई अर्को साताको शुक्रबार (साउन ८ गते) रातको ११ बजेर ५९  मिनेटसम्म रहनेछ ।

यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ ।