प्रवासी प्रवाहको ५७ औँ शृंखलामा साहित्यकार, गीतकार तथा कवि उन्नति बोहोरा “शीला” र गायक, सङ्गीतकार तथा नायक सत्यराज आचार्यको आतिथ्यता रहने भएकाे छ । कार्यक्रममा अतिथिसँग प्रस्तुतिसहितको अन्तरङ्ग कुराकानी महेश्वर पन्तले गर्नुहुने छ ।

जुमको माध्यमबाट हुने उक्त कार्यक्रममा कवि उन्नति बोहोरा “शीला” का गीतहरू तथा सत्यराज आचार्यका ख्याति प्राप्त गीतहरुकाे प्रस्तुत रहने छ । साथैँ, नयाँ गायिका पूजा घिमिरेले बस्टनबाट केही गीतहरू प्रस्तुत गर्नुहुनेछ ।

कोरोना कहरमा एक्लिएका नेपालीलाई नेपाली भाषा, कविता, गीत सङ्गीतबाट मनोरन्जन गराउने साथै विश्वभरका नेपालीलाई दूरदर्शनमार्फत् भेटाउने, मनोरञ्जन गराउने हेतुले एनआरएनए नेपाली भाषा, साहित्य, संस्कृति, तथा सम्पदा प्रवर्धन समितिले प्रवासी प्रवाह अनलाइन कार्यक्रम सुरु गरेको हाे ।

आउँदाे आइतबार (जुलाइ १८) का दिन नेपाली समयअनुसार साँझको आठ बजे (अमेरिकाको न्यूयोर्ककाे समयअनुसार बिहान ९:४५ बजे) प्रवासी प्रवाहको ५७ औँ शृङ्खला सुरू हुनेछ । कार्यक्रमकाे प्रत्यक्ष प्रसारण इनेप्लिज, प्रवासी साहित्यलगायत फेसबुक पेजबाट गरिने छ ।

उक्त कार्यक्रमलाई एनआरएनए द सिन्ङरको प्रचारप्रसार विशेष कार्यक्रमको रूपमा समेत मनाइने छ ।