मध्यपूर्वको एउटा सानो देश कुवेत । आर्थिक रुपमा सम्पन्न र विकसित राष्ट्रको रुपमा गनिन्छ । सन् १९७२ देखि नेपाल र कुवेत सम्बन्ध स्थापित भएबाटै दुइ देश बीचको सम्बन्ध उत्तिकै प्रगाढ र सुमधुर बन्दै गएको पाइन्छ । पचासौँ हजार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु वैदेसिक रोजगार तथा व्यवसायको रुपमा कुवेतमा रहँदैआएका छन् ।

अन्य देशहरुमा जस्तै यहाँ रहेका नेपालीहरु पनि साहित्यिक क्षेत्रबाट अछुतो रहन सकेका छैनन् । आफ्नो कामबाट बचेको समयमा कहीँ न कहीँ कतै न कतै सांगठनिक रुपमा वा स्वस्फूर्त रुपमा साहित्यिक क्षेत्रमा पनि उत्तिकै योगदान दिने हुटहुटी यहाँ पनि पाइन्छ ।

अनेसासका वर्तमान महासचिव राज श्रेष्ठका अनुसार कुवेतमा सर्वप्रथम २०१० मा केही साहित्यिक सर्जकहरुको सक्रियतामा “साहित्यिक शुक्ला समाज” को स्थापना भएको थियो । पछि त्यही संस्थालाई नै स्थापनाको करिब २,३ महिनापछि राजन रिमालको अध्यक्षतामा “अनेसास कुवेत च्याप्टर” मा रुपान्तरित गरियो थियो । विगतमा थोरै सर्जकहरु मात्र भएका कारण साथै कार्य व्यस्तताका कारण त्यति क्रियाशील हुन नसके पनि हाल हिमाल अन्जानले अध्यक्षता गर्नु भएपश्चात कुवेतमा साहित्यिक गतिविधि निक्कै जुर्मुराएको अवस्थामा छ ।

यहाँ साहित्यिक गतिविधि तीव्र हुनुमा इन्टरनेट तथा सामाजिक संजालले पनि निक्कै सहजता प्रदान गरेको छ । २०१३ मा कुवेतमा अर्को एउटा साहित्यिक संस्था “विश्व साहित्य महासंघ” को पनि स्थापना भएको थियो । हाल अमित चाम्लिङ्ग राईको नेतृत्त्वमा रहेको उक्त संस्थाले राजेन्द्र विरहीको संयोजकत्वमा बेलाबेलामा भानु जयन्ती तथा अन्य कार्यक्रमहरु गर्दै र मनाउँदै आइरहेको छ ।

हुन त कुवेतमा उल्लेख्य रुपमा साहित्य सर्जक नरहेको र केही सर्जकहरु कार्य व्यस्तता र विभिन्न कारणवश ओझेलमा रहेको अवस्था भने देखिन्छ । यो विडम्बना प्रायः सबै खाडी मुलुकहरुमा देखिएको र देखिन समान समस्या र अवस्था नै हो । खुलेर साहित्य सृजनामा लाग्नु भएको करिब २५ जनाको हाराहारीमा सर्जकहरु भए पनि विगत दुई वर्षदेखि यता उत्साहजनक रुपमा नेपाली दूतावास कुवेत, विभिन्न संघसंस्थाका पदाधिकारी, खेलाडी, पत्रकार साथै उलेख्य रुपमा नेपाली जनसमुदायको उपस्थितिमा भव्य रुपमा साहित्यिक कार्यक्रमहरु हुँदै आइरहेका छन् ।

अनेसास कुवेत च्याप्टरले वार्षिक तीन वटा ठूला कार्यक्रम र मासिक रुपमा भेटघाट छलफल तथा रचना वाचन कार्यक्रम गर्दै आइरहेका छन्, जसले गर्दा कुवेतमा रहेका साहित्य सर्जकहरुमा हौसला प्राप्त हुनुका साथै क्रियाशील रहन मद्दत पुगेको देखिन्छ । कुवेत च्याप्टरले त्रैमासिक रुपमा “काव्य प्रवाह शृङ्खला” को शुरुवात गरे पनि हालको असहज परिस्थितिका कारण भाग एकमा नै सीमित रहन पुगेको छ । साथै अहिलेको यस विषम परिस्थितिले अन्य क्षेत्रमा जस्तै विभिन्न साहित्यिक गतिविधिहरुमा समेत असर पर्न गएको छ ।

कुवेतमा रहेका सर्जकद्वारा विभिन्न समयमा आफ्ना केही कृतिहरु समेत प्रकाशित गरेका छ्न् । जसमा अनेसाको केन्द्रीय सदस्य समेत रहनु भएका होमबहादुर क्षेत्री अग्रस्थानमा हुनुहुन्छ । विभिन्न साहित्यिक संस्थाहरुमा आबद्ध भई विभिन्न नेपाली, हिन्दी तथा अंग्रेजी साहित्यिक पत्रिकाहरुको सम्पादकीय भूमिकामा कार्य गरिसक्नु भएका क्षेत्री विभिन्न पुरस्कारहरुद्वारा पुरस्कृत भइसक्नु भएका छन् साथै उहाँको थुप्रै कृतिहरु बजारमा उपलब्ध छन्, जसमा उहाँको कविता संग्रहमा “आकाररहित”, “मेरा कविताहरु”, “पर्खौं हामी”, “मृगतृष्णाको नदी” “डुलुवाको डायरीबाट”, “सूर्य लुक्छ तर निभ्दैन”, “मूर्ति”, “समयको फेदटुप्पो हुँदैन” आदि छन् भने “क्षितिज हराएको छैन” र “युद्धान्त” कथा संग्रहका साथै “मेरा अनुदित कथाहरु” नामक अनुवादका पुस्तकहरु प्रकाशित भएका छन् ।

साथै असङ्ख्य रुपमा थुप्रै पत्रपत्रिकामा रचनाहरु प्रकाशित भैसकेका छ्न् । यसैगरी कुवेतमा रहेका साहित्यिक कृति प्रकाशित गर्नेहरुमा विश्व साहित्य महासंघका अध्यक्ष अमित चाम्लिङ राईको “नथाकेको कथा” कविता संग्रह, कुवेत च्याप्टरका संरक्षक मनोज मनसुनको “आज एक्लै”, “मरुभूमिको फूल” गजल संग्रह, नेपाल कुवेत डट कम का प्रधान सम्पादक तोयानाथ दहाल उपेक्षितका “बालुवाको घर” कथा संग्रह, “प्रवासका सुस्केराहरु” कविता संग्रह, जानुका खतिवडाको ‘परदेशी चेली’ मुक्तक संग्रह प्रकाशित भैसकेका छन् ।

यसरी परदेशको भूमिमा पनि नेपाली भाषा साहित्यको उत्थान, सम्बद्धर्न र संरक्षण गर्नमा कुवेतमा रहका नेपालीहरुको ठूलो भूमिका रहेको देखिन्छ ।