नेपाली साहित्यका विशिष्ट व्यक्तित्व प्रा. रामकुमार पाँडेले बालवाङ्मय तथा अनुसन्धान केन्द्रमार्फत प्रत्येक वर्ष प्रदान गर्ने गरी राकुपा बालवाङ्मय प्रतिभा पुरस्कार स्थापनाको घोषणा गर्नुभएको छ । आफ्नो ७५ र्औँ जन्मदिवसको अवसर पारेर उहाँले असार २५, २०७८ का दिन भर्चुअल कार्यक्रममा उक्त घोषणा गर्नुभएको हो ।

पुरस्कारका लागि उहाँले केन्द्रलाई रू. २ लाख ११ हजार १११ प्रदान गर्नु हुनेछ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार प्रा. पाँडेले उहाँले सो रकमको ब्याजबाट संस्थाले तोकेको रकम २० वर्षमुनिका बालबालिका वा किशोरकिशोरीले रचना गरेका प्रकाशित बालकथाका पुस्तकहरूमध्ये उत्कृष्ट ठहरिएको एउटा कृतिलाई प्रदान गरिने छ । पुरस्कार २०७९ सालदेखि प्रदान गरिने कार्यक्रम छ । पाँडे बालवाङ्मय तथा अनुसन्धान केन्द्रका सल्लाहकारसमेत हुनुहुन्छ ।

पाँडे नेपाली साहित्यमा हास्यव्यङ्ग्यकार, बालसाहित्य सर्जक र कथोपचार विधिका प्रणेता, हाइजीन र हाइकुका प्रवर्द्धक, चित्रकार, अनुसन्धाता र भूगोलविद्का रूपमा पनि सुपरिचित हुनुहुन्छ । उहाँका नेपाली र अङ्ग्रेजी भाषामा गरी १०० भन्दा बढी पुस्तक प्रकाशित छन् । आगामी एक वर्षभित्र नेपाली हास्यव्यङ्ग्यमा पाँडे पुराण र साहित्यकार पाँडेको जीवनीका अतिरिक्त प्रा. पाँडेको विभिन्न क्षेत्रको योगदानमाथि प्रकाश पार्नेगरी २५ जना लेखक स्रष्टाका रचनाको संकलन समेत तीन कृति प्रकाशित गरिने कार्यक्रममा जानकारी दिइएको थियो ।

केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष विजयराज आचार्यले संस्थाको विज्ञप्ति वाचन गर्दै एक वर्षभित्र गरिने कार्यक्रमबारे जानकारी दिनुभएको थियो भने कोषाध्यक्ष शान्ति सापकोटाले धन्यवाद ज्ञापन गर्दै प्रा. पाँडेप्रति शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव मन्जु ज्ञवालीले गर्नुभएको थियो ।

प्रा. पाँडेको योगदानको चर्चा
कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् संस्थाका सल्लाहकार के.के. कर्माचार्यले साहित्य, कला, अनुसन्धान, पाठ्यपुस्तक लगायत विभिन्न क्षेत्र र विधामा प्रा. रामकुमार पाँडेमा भएको प्राज्ञिक ज्ञान र बौद्धिकताको प्रशंसा गर्दै उहाँको चित्रकला हेरेर आफू प्रभावित भएको बताउनुभयो । साहित्यकार मित्रबन्धु पौडेलले साहित्यकार पाँडेको परिचय र योगदानबारे विस्तृत चर्चा गर्दै उहाँ लेखक, चिन्तक र बुद्धिजीवीका रूपमा समेत नेपाली समाजमा चिरपरिचित हुनुभएको बताउनुभयो । विभिन्न विषयका कृतिहरूमार्फत नेपाली भाषासाहित्यमा योगदान पुर्याउनुका अतिरिक्त अङ्ग्रेजी भाषामा समेत थुप्रै कृति रचना गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको पहिचान बनाउन सहयोग गर्नुभएको चर्चासमेत उहाँले गर्नुभयो ।

अतिथि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले नेपाल परिचयजस्ता कृतिमार्फत नेपाललाई विश्वमाझ चिनाउने पाँडेको योगदान अविस्मरणीय भएको बताउनुभयो । अमेरिकाबाट जोडिनुभएका प्रसिद्ध वनस्पतिविद् एवम् लेखक डा. तीर्थबहादुर श्रेष्ठले उचाइ भूगोलमार्फत प्रा. पाँडेले नेपालकै उचाइ बढाएको धारणा राख्दै भन्नुभयो, उहाँका कृतिहरूले उहाँको आयु थप्दैछन् । सिर्जनाले उहाँका जीवन थपिँदैछन् । नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रा.डा. ध्रुव घिमिरेले समाजसँग उहाँको लामो समयदेखि सम्बन्ध रहेको बताउँदै बालकविता, बालकथा र चित्रकथाका अतिरिक्त बालसाहित्यसम्बन्धी प्राज्ञिक चिन्तनमा पनि उहाँले योगदान दिनुभएको धारणा राख्नुभयो ।

कार्यक्रममा नर्वेबाट प्रा. विशाल सिटौला, केन्द्रका आजीवन सदस्यहरू अमेरिकाबाट सिर्जना शर्मा, बेलायतबाट कृष्ण बजगाईं र क्यानडाबाट सुरेन उप्रेती जोडिनुभएको थियो र उहाँहरूले पनि प्रा. पाँडेको विभिन्न क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । यसरी चर्चा गर्नेहरूमा कार्यसमितिका सदस्यहरू अनन्त वाग्ले, गङ्गा कर्माचार्य पौडेल, गङ्गादेवी कसजू र डा. तारानिधि भट्टराई, आजीवन सदस्यहरू हरिप्रसाद भण्डारी, केदार श्रेष्ठ, सुमन केसी, नेत्र तामाङ र रवीन्द्र मानन्धर तथा प्रा. पाँडेका विद्यार्थी गोसाई केसी हुनुहुन्थ्यो ।

प्रा. पाँडेका योजना
कार्यक्रममा प्रा. पाँडेले बालवाङ्मय तथा अनुसन्धान केन्द्रको सौजन्यताप्रति आभार व्यक्त गर्दै आगामी एक वर्षमा विभिन्न विषयका पुस्तक प्रकाशित गर्ने योजनाबारे जानकारी दिनुभयो । उहाँका अनुसार हाइकु महाकाव्य ईन्द्रलोक, हाइकु खण्डकाव्य हिमकन्या, पारिवारिक सामाजिक इतिहास चिनाबिनाको मान्छे, हास्यव्यङ्ग्यसङ्ग्रह हाँसैहाँसो, हाइकुसङ्ग्रह लेउ, भ्mयाउ र च्याउ, लघुकथासङ्ग्रह कथाकुथुङ्ग्री, आप्mनै जीवनमा आधारित बालउपन्यास जिउँदो सालिक लगायत थुपै्र पुस्तक रहेका छन ।