नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा दिवंगत कर्मचारी गीता तुलाधर राईको स्मृतिमा शोकसभाको आयोजना गरियो । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण दिवंगत गीताको शोकमा आइतबार प्रज्ञा भवनमा शोकसभाको आयोजना गरी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको हो । वि.सं. २०२१ साल पुस १ गतेका दिन काठमाडौँमा जन्मिनुभएकी गीताको कोरोनाका कारण ५६ वर्षको उमेरमा जेठ ८ गते अल्पायुमै दुःखद निधन भएको थियो ।

स्व. गीताको तस्बिरमा माननीय कुलपति गङ्गाप्रसाद उप्रेती, माननीय उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञपरिषद्का सदस्यहरू प्राज्ञ प्रा.डा. दिनेशराज पन्त, प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ प्रा.डा. उषा ठाकुर, प्राज्ञ माया ठकुरी, प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेल, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ डा. देवी नेपाल, प्राज्ञसभा सदस्य शशी लुमुम्बू एवम् विज्ञ तथा कर्मचारीहरूद्वारा पुष्पगुच्छा अर्पण गरी गहिरो शोक प्रकट तथा श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

शोकसभामा बोल्दै कुलपति उप्रेतीले जन्म र मृत्यु मानिसको जीवनको दुई पाटा भएको उल्लेख गर्नुभयो । मानिसले जन्मेपछि मर्नै पर्ने सत्य भएपनि अल्पायुमै मृत्युवरण गर्नुभएकी कर्तव्यनिष्ठ कर्मचारी गीताको असामयिक मृत्युलाई सहजरूपमा स्विकार गर्न गाह्रो भइरहेको बताउनुभयो सुनाउनुहुँदै उहाँले भन्नुभयो– “विश्वलाई नै त्राही त्राही बनाइरहेको महामारी कोरोना भाइरस (कोभिड–१९)लाई प्रज्ञा–प्रतिष्ठान कतिपय कोभिड सङ्क्रमित प्राज्ञ तथा कर्मचारीहरूले पराजित गर्न सकेता पनि गीताले भने कोभिडसँग हार्नु परेकामा सिङ्गो प्रज्ञा–प्रतिष्ठान नै स्तब्ध बनेको छ । म दिवंगत कर्मचारी गीताप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

माननीय उपकुलपति गुरुङले आफ्नो निजी सचिवालयमा कार्यरत गीता तुलाधर राईको कोरोना भाइरसका कारण भएको असामयिक दुःखद निधनले आफूलाई दुःखी तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो– “गीताजी अन्तुर्मुखी स्वभावकी तर कर्तव्यनिष्ठ कर्मचारी हुनुहुन्थ्यो । उहाँको असामयिक निधनमा त्यो अन्तर्मुखी स्वभाव पनि कारक बन्यो कि भन्ने लागिरहेको छ । मानिसले जीवनमा हाँस्न सक्नुपर्छ, खुसी र सुखी हुन सक्नुपर्छ । यसो भयो भने दीर्घ जीवन मिल्छ । प्रज्ञा–प्रतिष्ठानले एक जना कर्तव्यनिष्ठ कर्मचारीलाई गुमाएको छ । म स्व. गीताको आत्माले शान्ति पाओस् भनी कामना गर्दछु ।”

सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले उपचारका लागि सक्दो कोसिस गर्दागर्दै पनि गीतालाई बचाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो– “कोभिड भएकी आफ्नी आमाको रेखदेख गर्दागर्दै गीताजीलाई पनि कोभिड भएछ । आमा पनि बित्नु भएछ । हामीले उहाँ कोभिडबाट पीडित भएको अन्तिम घडीमा मात्रै खबर पायौँ । उहाँ आफैँ फोनमा बोल्नुभएको थियो । मलाई जसरी पनि बचाउनुस् भनेर भन्नुभएको थियो । कुलपतिज्यू, उपकुलपतिज्यू र मैले उहाँको उपचारका लागि त्रिभुवन शिक्षण अस्तपालमा सबै व्यवस्था मिलाइसकेका थियौँ । अफसोस् ! अक्सिजन लेभल १५ मा पुगिसक्नुभएकी उहाँको शरीरले अस्पतालमा पुग्दा अक्सिजन लिन सकेनछ । अन्ततः उहाँले मृत्युवरण गर्नुप¥यो । हामीले एक जना सुशील र कर्तव्यनिष्ठ कर्मचारीलाई गुमाउनु प¥यो ।”

सदस्य सचिव प्राध्यापक उपाध्यायले दिवंगत कर्मचारी गीताप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभएको थियो । साथै, उहाँले प्राज्ञपरिषद्को बैठकद्वारा पारित शोकप्रस्ताव पढेर सुनाउनुभएको थियो ।

वि.सं. २०४८ साल माघ १ गते प्रज्ञा–प्रतिष्ठानमा खरिदार पदबाट सेवा आरम्भ गर्नुभएकी गीता तुलाधर राईको २०५४ पुस २ गते ना.सु. पदमा र २०६७ मङ्सिर २ गते शाखा अधिकृत पदमा बढुवा भएको थियो । उहाँ स्वर्गारोहण हुनुभन्दा अगाडिसम्म उपकुलपतिको निजी सचिवालयमा कार्यरत हुनुहुन्थ्यो । स्व. गीताले प्रज्ञा दीर्घ सेवा पदकसमेत प्राप्त गर्नुभएको थियो । स्व. गीताको निधनको शोकमा असार २१ गते प्रज्ञा–प्रतिष्ठान कार्यालय बन्द रहनेछ ।

शोकसभा कार्यक्रमको सञ्चालन बुद्धि तिमल्सिनाले गनुभएको थियो ।