यसपाला साहित्यकार अविनाश श्रेष्ठलाई दुई दिन जन्मदिन मनाउने बाध्यता पर्यो । ६३ वर्षअघि १४ मेमा जन्मिएका दिन नेपाली मिति अनुसार वैशाख ३१ थियो । त्यसैले यस पटक वैशाख ३१ मे १३ मा नै परेको हुनाले उनलाई परिवारले बिहानै सगुन दिए । औपचारिक रूपमा भने आज १४ मेमा जन्मदिन मनाउँदैछन् ।
नेपाली साहित्यमा सशक्त कथा संग्रह ‘तान्या, इन्द्रकमल र अन्धकार’ तथा ‘अस्वस्थामा हतोहतः’ नाट्यकृति सहित अन्य तीन कविता संग्रह दिएका उनी यमनारायण तथा लक्ष्मीको पहिलो सन्तान हुन् ।
बाल्यकालदेखि नै लेखनमा रूचि राख्ने उनले गुवाहटीमा स्कुल तथा कलेज पढ्दा कविता, सायरी तथा नाटक लेख्ने गरेका थिए । त्यतिबेला नै उनी स्कुल तथा स्थानीय स्तरका स्टार थिए । कतिसम्म भने उनलाई दिनमा दर्जनौँ प्रशंसकका पत्रहरूसमेत आउँथे । कतिपयले त प्रेमपत्र नै लेख्थे ।
‘कोलाज कविता आन्दोलन’का सदस्यसमेत रहेका उनी पछि उच्च अध्ययनका लागि काठमाडौँ आए । काठमाडौँमा पढ्दाताका शुरूवाती चरणमा बाम राजनीतिमा चासो दिएका उनले पछि राजनीति छाडेर पूर्णकालीन लेखक नै बने ।
उनले नेपाल टेलिभिजनको शुरूवातकालदेखि नै टेलिफिल्मकाे लेखन तथा निर्देशन समेत गरेका छन् ।
उनको योगदानका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने ‘समकालीन साहित्य’ म्यागेजिनको सफल सम्पादकत्व पनि एक हो । उनको कार्यकालमा नयाँ पुस्ताका रचनाकारहरूले ठाउँ मात्र बनाएनन्, त्यहीँबाट परिचय फराकिलो बनाएका थिए ।
उनलाई साहित्यपोस्टका तर्फबाट जन्मदिनको धेरैधेरै शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।