नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागका प्रमुख एवम् सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायको अध्यक्षतामा विभागको बैठक बसेको छ । बैठकमा विभागीय सदस्यहरू पूर्वप्राज्ञ परिषद् सदस्य एवम् दर्शनशास्त्र विभागका पूर्व प्रमुख प्राज्ञ विष्णु प्रभात, प्राज्ञ गोपीरमण उपाध्याय र पद्मप्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।

उपकुलपति एवम् संस्कृति विभाग प्रमुख डा. जगमान गुरुङ, दर्शनशास्त्र विभागका पूर्वप्रमुख तथा सामाजिकशास्त्र विभाग प्रमुख प्राज्ञ प्राध्यापक दिनेशराज पन्त र प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बू बैठकमा विशेष आमन्त्रितका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

बैठकले चालु आ.व.मा सम्पन्न भएका गोष्ठी, अनुसन्धान र प्रकाशनहरूको समीक्षा गर्दै दर्शनावली भाग ८ शीघ्र प्रकाशित गर्ने, नेपाली दर्शन नामक ग्रन्थका लागि प्रस्तावित तथा निर्धारित विषयहरूमध्ये प्राप्त हुन बाँकी सामग्रीहरू चाँडोभन्दा चाँडो सङ्कन गरी प्रकाशनका लागि अन्तिम रूप दिने तथा असार २२ गते ८१ औँ योगमाया स्मृति दिवसका अवसरमा महिला अध्ययन केन्द्रसँग संयुक्त रूपमा ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयक भर्चुअल विचार–गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । विभागद्वारा प्रकाशन हुँदै आएको दर्शनावली अब केन्द्रीय योजनाअन्तर्गत प्रकाशन हुने भएको छ । बैठकले यसका निमित्त कुलपतिमार्फत प्राज्ञ परिषद्प्रति आभारसमेत व्यक्त गरेको छ ।

विभागद्वारा चालु आ.व.मा उपत्यका र बाहिर गरी सातओटा विचार–गोष्ठी सम्पन्न भएका छन् । यसै गरी विभागद्वारा तयार भएका दर्शनशास्त्रसम्बन्धी दुई पुस्तक प्रकाशन भएका छन् भने चारओटा पुस्तक प्रकाशनका क्रममा रहेका छन् । बैठकले बजेटको सीमाभित्र रहेर पूर्व निर्धारित तत्कालीन र दीर्घकालीन योजनाहरूलाई शीघ्र कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।

दर्शनशास्त्र विभागबाट दर्शनावली–७ प्रकाशित भएको छ भने भाग–८ प्रकाशनको क्रममा रहेको छ । विभागको परियोजनाअन्तर्गत पौरस्त्य दर्शन र द्वन्द्ववाद, वैदिक संस्कृतिमा राष्ट्रवाद, बौद्ध दर्शन सरल अध्ययन, वैदिक समाज र दर्शन, माथुरी पञ्च लक्षणीको व्याख्या प्रकाशित भएका छन् । वैद्धिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन छपाइका क्रममा रहेको छ ।

२०२८ देखि २०४१ सालका बिचमा तत्कालीन नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित तथा प्रा. चूडानाथ भट्टराईद्वारा लिखित ९ ओटा पुस्तक सम्पादनसहित प्रकाशन हुन लागेको विभागीय प्रमुख प्रा. उपाध्यायले जानकारी गराउनुभयो ।