अन्तर्राष्ट्रिय जलरङ समाज (आई.डब्ल्यु.एस. नेपाल) नेपालको आयोजनामा गएको वर्ष नोभेम्बर ८-१२ सम्म ऐतिहासिक जलरङ कला कार्यशाला सम्पन्न भएको थियो। सो कार्यशालाले जलरङ विधामा सक्रिय नयाँ पुराना गरी ७२ जना नेपाली कलाकारहरूले रातदिन गरी लगातार १०० घण्टा एकपछि अर्को लाइभ डेमोन्स्ट्रेशन (प्रत्यक्ष कला सिर्जना) गरेका थिए।

आई.डब्ल्यु.एस.नेपाल अध्यक्ष एवं जलरङ अभियन्ता कलाकार एन.बि. गुरूङका अनुसार अन्तर्राष्ट्रियस्तरमा नेपाली कला प्रवर्ध्दन गर्ने उद्देश्यले उक्त कला कार्यशाला आयोजना गरिएको थियो। जुन विश्वमा नै सम्भवत अहिलेसम्मकै लामो प्रत्यक्ष कलाप्रदर्शनी रहेको उनको भनाइ छ।

यसअघि भारतीय कलाकारहरूले लगातार ७२ घण्टा “लाइभ डेमो” गरी विश्व रेकर्ड कायम गरेको इतिहास छ । भलै विभिन्न प्राविधिक कठिनाई र झन्झटले यो कला कार्यशालाले विश्व रेकर्ड कायममा आफ्नो आधिकारिकता दाबी गर्न नसके पनि नेपालको लागि ऐतिहासिक नै बनेको छ।

त्यतिबेला प्रत्यक्ष बनाइएका विभिन्न नेपाली कलाकारहरूका जलरङ कला सिर्जनालाई संग्रह गरी यसपालि भर्चुअल माध्यमद्वारा प्रदर्शनी गरिएको वरिष्ठ कलाकार एवं आई.डब्ल्यु.एस. नेपालका उपाध्यक्ष डिराम पाल्पालीले बताउनुभयो।

यस प्रदर्शनी अवलोकन गरी कलापारखीहरूले भरपूर मनोरन्जन लिन सक्ने सक्नु हुनेछ। २५ जुनबाट शुरू भएको यो प्रदर्शनी ४ जुलाईसम्म जारी रहनेछ। प्रदर्शनीको भिडियो तल लिन्कमा हेर्नुहोला।

[embedyt] https://www.youtube.com/watch?v=GWK825Xu1uM[/embedyt]