विराटनगरस्थित परिवर्तनका हातहरू नामक संस्थाले विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि देशव्यापी कविता प्रतियोगिता आयोजन गर्ने भएको छ ।
२०७७ सालमा स्थापना भएको यस संस्थाले यसअघि स्थानीय तहमा विभिन्न किसिमका प्रतियोगिता गरी बालबालिकाहरूको चेतना अभिवृद्धिमा भूमिका खेलेको थियो ।
‘यस पटक चाहिँ स्थानीय भन्दा राष्ट्रिय स्तरमै केही गरौँ र बालबालिकाको चेतनाको स्तर बढाउन केही भूमिका खेलौँ भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो,’ परिवर्तनका हातहरू संस्थाका अध्यक्ष केशव भण्डारीले साहित्यपोस्टलाई बताउनुभयो ।
प्रतियोगितामा भाग लिनका लागि कविता मौलिक र यसअघि अन्यत्र प्रकाशन वा प्रसारण नगरिएको हुनुपर्ने, प्रतियोगितामा देशभरिका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने, कविताले राष्ट्रिय स्वाधीनता, सामाजिक, जातीय, धार्मिक विखण्डनलाई प्रश्रय दिने खालको नहुनुपर्ने, राष्ट्रिय भावना तथा सकारात्मक सोच प्रवर्द्धन गर्ने रचनालाई विशेष महत्त्व दिइने, कविता नेपाली भाषामा लेखेर वाचन गरी बढीमा दुई मिनेटसम्मको स्पष्ट बुझिने गरी भिडियो बनाई पठाउनुपर्ने संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
कविता पठाउने अन्तिम मिति यही असार १७ गते बेलुकी ५ बजेसम्म रहेको छ । कवितालाई ह्वाट्स एप नम्बर 9811750857 मा पठाउनुपर्ने र अन्तिम नतिजा असार २९ गते भानु जयन्तीका दिन प्रकाशन गरिने जनाइएको छ ।
प्रतियोगितामा विजयी कविहरूलाई प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः दुई हजार, एक हजार पाँच सय र एक हजार रूपैयाँका साथ आकर्षक प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।