साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बहुप्रतीक्षित ‘जियरा’ बजारमा

लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको सङ्ख्या बढेको, मृत्युदर पनि उकालो लागेको र लगत्तै निषेधाज्ञा हुने हल्लाले पुस्तकलाई बजारमा पठाउन नसकिएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।

असार १ देखि भने पूरै दिन नभए पनि बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने सरकारको निर्णयले पुस्तकप्रेमीहरूलाई उत्साहित बनाएकाले यसै मेसोमा यस प्रतीक्षित उपन्यासलाई बजारमा पठाउने निर्णय फाइनप्रिन्टले गरेको हो ।

यसबीचमा नयाँ कृति सार्वजनिक नभएकाले पाठकले नयाँ स्वादको पुस्तक पढ्न पाऊन्, पाठकले नयाँ खुराक पाऊन् भनेर फाइनप्रिन्टले पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको फाइनप्रिन्टले जनाएको छ । निषेधाज्ञाकै कारण कुनै सार्वजनिक कार्यक्रम नगरी पुस्तक बजार पठाइएको हो ।

यस सङ्ग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन् । ‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु । त्यसमा म कति सफल भएँ, त्यो जान्न म व्यग्र प्रतीक्षामा छु ।’
‘जियरा’मा सङ्गृहीत कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ ।

मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराएको प्रकाशन संस्थाले जनाएको छ । ‘मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन्,’ फाइनप्रिन्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लेखकले आफ्ना पात्रलाई दुःखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ‘एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् । पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन् ।’

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए । ‘मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ,’ उनले भने ।

यस कथासङ्ग्रहको खुद्रा मूल्य ४७५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
Loading...