साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लुम्बिनी प्रदेशका कारागारभित्र लेखन प्रतियोगिता सम्पन्न 

कारागार पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्रका कथा, डायरी तथा लेखहरू पनि प्रकाशन गरिरहेको छ । यही अभियानअन्तर्गत लुम्बिनी प्रदेशका कारागारभित्र लेखन प्रतियोगिता आयोजना गरेको थियो ।
लेखन प्रतियोगिताको लागि यस अभियानले १३ वटा कारागारहरूबाट ३० कैदी लेखकहरूका ५० स्वतन्त्र लेख प्राप्त गरेको थियो । जसमध्ये लेखको मापदण्ड पूरा गरेका ८ सृजनाहरूलाई निर्णायक बुकाहाेलिक्सका संयाेजक तथा अनुवादक सगुना शाह तथा कवि तथा समालाेचक महेश पौड्यालले मूल्याङ्कन गर्नुभएको थियो ।
प्रतियोगितामा शालिकराम रेउले (जिल्ला कारागार दाङ, तुलसीपुर) प्रथम, इन्द्र पुन (जिल्ला कारागार, बाग्लुङ) द्वितीय, नवीन क्षेत्री (जिल्ला कारागार दाङ, तुलसीपुर) तृतीय हुनु सफल हुनुभएकाे छ । विजेताहरूलाई यस अभियानले पुरस्कारको रूपमा पुस्तक तथा प्रमाणपत्र प्रदान गर्नेछ ।
“कारागारमा पढ्नु र लेख्नु जति कठिन छ, त्यहाँसम्म पुगेर त्यहाँको कठिन जीवन यापन गरिरहनुभएका दाजुभाइ र दिदीबहिनीहरूलाई पठनरित प्रवृत्त गराउनु र लेख्न प्रेरित गर्नु त्यति नै कठिन छ ।” निर्णायक महेश पाैड्यालले रचनाहरू मूल्याङ्कन गर्दा अनुभव सुनाउँदै भन्नुभयाे, “हरि खनालको संयोजकत्वमा रहेको राष्ट्रिय पुस्तकालय अभियानले देशका विभिन्न कारागारमा पुगी, पठन संस्कृतिको प्रवद्र्धन गर्नुका साथै त्यहाँ रहनुहुने प्रियजनहरूलाई लेख्नका निम्ति जसरी प्रेरित गर्नुभएको छ, त्यो आफैँमा स्तुत्य कार्य हो । देशको ध्यान नपुगेको एउटा पक्षमा यस समूहले कदम चालेको छ । कारागारबाट धेरै उत्कृष्ट कृतिहरू निस्केका छन् भन्ने हामी सबैलाई थाहा छ । बीपी कोइरालाका करिब करिब सबै डायरी, संस्मरण र उपन्यास जेल जीवनका उपज हुन् । जवाहरलाल नेहरूको सम्पूर्ण लेखनको जग जेली जीवनमै छ । बङ्लादेशका पूर्व राष्ट्रपति शेख मुजिबुर रहमानका दुईवटा संस्मरण जेलजीवनमै आधारित छन् ।”
त्यस्तै, प्रतियोगितामा निर्णायकको हैसियतले कैदीबन्दी लेखकहरूका रचना पढ्न पाएकाेमा पाैड्यालले खुसी व्यक्त गर्नुभयाे । उहाँले अगाडि भन्नुभयो, “पढिरहँदा मभित्र परानुभूतिको एउटा तीव्र प्रकम्प आएको मैले महसुुस गरेँ । धेरै साथीहरूको लेखमा आफ्नो दुर्भाग्य वा नियतिमाथिको तिक्त प्रतिक्रिया छ, र देशको सुस्त र आग्रही न्यायिक प्रणलीमाथिको आक्रोश पनि छ । जेलबाट घर परिवार र प्रियजनको सम्झना यी आलेखको सबैभन्दा कारुणिक पक्ष लागेको छ । कतिपय साथीहरू निजी अनुभूतिको सहतबाट माथि उठेर देशका अन्य समस्या, मानवीय कर्तव्य आदि जस्ता विषयमा पनि कलम चलाएको पाएँ । स्वाभाविक र निजी अनुभूतिबाट अलिकति हटेर अन्य विषय पनि अँगाल्न खोज्नु सिर्जनालाई व्यापक बनाउने प्रयास गर्नु हो । कतिपय आलेखको भाषाशैली र प्रस्तुती मैले देशका ख्यातिप्राप्त साहित्यकारहरूकै दाँजोमा पनि पाएँ । ममा के विश्वास जागेको छ भने पठन र लेखनको अभ्यासलाई यसै गरी जारी राख्नु हो भने यी प्रिय साथीहरूले कारागारमा आफ्नै एउटा सार्थक साधना र थेरापी फेलापार्नुहुनेछ, र जीवनमा एउटा अर्को उपल्लो ध्येय पनि भेटुनुहुने छ । म विजेताहरूमा हार्दिक बधाई भन्न चाहन्छु र सबै सहभागीहरूमा शुभकामना भन्न चाहन्छु ।”
“विभिन्न विधाका लेखहरू एकैठाउँमा राखेर मूल्याङ्कन गर्न गारो हुँनेरहेछ, तुलनात्मक रूपमा हेर्दा मलाई चाहिँ आत्मपरक लेखहरूले मन छोयो। हामीलाई लकडाउनको समयमा केहिदिनसम्म मात्र घरभित्र थुनिएर बस्न बाध्य हुँदा त कति गारो हुँदो रहेछ भने , विभिन्न परिबन्धले जेलमा जीवन बिताइरहनुभएकाहरूलाई हरेकदिन आफ्ना मनमा आउने विचारहरू, पर्खालभित्रको लाचारीपनले मानसिक रूपमा कस्तो विक्षिप्त बनाउँदो हो ?”, अर्का निर्णायक सगुना शाहाले आफ्नाे अनुभव सुनाउँदै भन्नुभयाे, “यी कुराहरूलाई नजिकबाट थोरै मात्रपनि बुझ्ने मौका पाएँ। तपाईँहरूको टिमलाई धन्यवाद उहाँहरूलाई भावात्मक पिडाहरू पोख्नु माध्यम बनाइदिनुभएकोमा। बाँकी कविताहरूभने हरेक कोहिले लेख्ने खालको नै लाग्यो।”
प्रतिक्रिया
Loading...