पतन्जली योग समिति काठमाडौँ र घोष्ट राइटिङ् नेपालबीच अनलाइन अन्तक्रिया सम्पन्न

पतन्जली योग समिति काठमाडौँको साप्ताहिक अनलाइन कार्यक्रममा लेखनका विभिन्न आयामको जानकारीमुलक संक्षिप्त विवेचना विषयको कार्यक्रममा नेपालमा घोष्ट राइटिङ नेपाललाई संस्थागत गर्ने प्रथम व्यक्तिको रुपमा घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाललाई विषयविज्ञको रुपमा आमन्त्रित गरिएको थियो ।

कार्यक्रमको सन्चालन रश्मी नेपालले गर्नुभएको थियो भने सुधा सापकोटाको “जन्म दियौ किन ?” भन्ने भजन गाउनु भएको थियो । कार्यक्रममा विषयविज्ञको रुपमा आमन्त्रित गरिएका घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले घोष्ट राइटिङ नेपाल र विश्व घोष्ट राइटिङ, घोष्ट राइटिङले चलाएको सिर्जनात्मक लेखन, कुन्ज थियटरले लेखनमा पारिरहेको प्रभावको बारेमा अनुभुतिपरक व्याख्या गर्नुभएको थियो ।

“पुर्खाको इतिहासले पुस्ता बदल्छ, मान्छेको मरणपछि पनि स्मरण गर्नुपर्दछ, हरेक मान्छे नलेखिएको कथा हो, तपाईँ कथा भन्नुस् हामी लेखिदिन्छौँ” जस्ता संस्थागत नाराहरु विश्व घोष्ट राइटिङको नारा नभई नेपाली मौलिक नारा बनाएको बताउनु भयो । आफ्नो संस्थाले हालसम्म १२५ बढी व्यक्तिको पुस्तक प्रकाशन गरिसकेको र सिर्जनात्मक लेखनको १४ औँ व्याचसम्म आउँदा ३ सय ५० जनाले लेखनको विभन्न विषयको विज्ञ बोलाएर लेखन तालिम गरेको बताउनुभयो ।

नेपालमा योग र प्राणायमका अनुभूतिपरका पुस्तक नभएको र विश्वभरि योगका पुस्तक भने बेस्ट सेलर भएकोले नेपालमा योग प्राणायामका त्यस्ता पुस्तक लेख्न घोष्ट राइटिङ नेपालले सहयोगी भूमिका निभाउने बताउनु भयो ।

कार्यक्रमको संयोजन पतन्जली योग समिति काठमाडौँको सदस्य मन्जु केसीले गर्नुभएको थियो । कार्यक्रममा सुनिता न्यौपाने काफ्ले, सन्जिना श्रेष्ठ, दिपक अधिकारी, सुहाना बज्राचार्यले प्रश्न गर्नुभएको थियो । आफूहरूले पनि आफ्नो पुर्खाको इतिहास लेख्ने र खेर जान नदिने त्यसलाई दस्तावेजीकरण कसरी गर्ने भनेर उठेको प्रश्नमा घोष्ट राइटिङले सम्पादन, प्रकाशन र लेखनको काम गरिरहेको ढकालले जानकारी दिनुभएको थियो ।

कार्यक्रमको सभापतित्व गरिरहनु भएका पतन्जली योग समिति काठमाडौँ जिल्लाका अध्यक्ष सुरेन्द्र रिमालले योग र लेखनलाई जोडेर गरिएको कार्यक्रम प्रभावकारी भएको र आगामी दिनमा संस्थागत सहकार्य गर्दै काम गरिने बताउनु भएको थियो ।