चितवन साहित्य परिषद्को इतिहासमा अघि कहिल्यै नभएको जुम भेला भयो । जसमा कवि-लेखकहरूले जुम कवि गोष्ठीमा विभिन्न सिर्जना प्रस्तुत गर्नुभएको थियो । वैशाख २७ मा सम्पन्न सो जुम कवि गोष्ठी (शृङ्खला एक)मा प्रस्तुत भएका सिर्जनामाथि समीक्षक महेश पौड्यालले समीक्षासमेत प्रस्तुत गर्नुभएको थियो ।

 

पाैड्यालले संसारको दुई तिहाई जनसङ्ख्या लकडाउनको स्थितिमा रहे पनि कवि-लेखकको मनोवेगमा कुनै लकडाउन छैन भन्ने प्रमाण प्रविधिको प्रयोगद्वारा विश्वभरि नै चलिरहेका गोष्ठी, रचनावचन र अन्य संवादहरूले प्रस्तुत गरिरहेको बताउँदै बाह्य संसारका उकुसमुकुस कवि लेखकहरूको रचनामा परिलक्षित हुन्छन् र रचना र तिनको सम्प्रेषणका माध्यमबाट उनीहरू त्यस उकुसमुकुसको विरेचन र मनोवैज्ञानिक निकासको बाटो बनाउने बताउनुभयो ।

चिसाप जुम कवि गोष्ठीलाई चिसापका अध्यक्ष, कवि सुरेन्द्र अस्तफलले सञ्चालन गर्नुभएको थियो । गोष्ठीको विशेषता के थियो भने, यसमा चिसापका पूर्व अध्यक्ष श्रीभक्त अच्युत वाग्ले, अग्रज स्रष्टाहरू वनमाली निराकार र गोविन्दराज विनोदी तथा सेवानिवृत्त प्राध्यापक कवि एलबी क्षेत्रीदेखि युवा पुस्ताका कवि जेनन नेपालसम्मका विविध वयका कविहरूको उपस्थिति थियो । कविहरू नेपाल मात्रै होइन, अस्ट्रेलिया, जर्मनी र भारतबाट समेतबाट जोडिएका थिए । कवितामा पनि, स्वाभाविक रूपले विविधता थियो । छन्द कवितादेखि लोकगीत, आधुनिक पद्य कविता र गजल तथा मन्तव्यमार्फत् विविध विचारको सम्प्रेषण चिसाप जुम गोष्ठीको विशेषता थियो ।

गोष्ठीमा प्रस्तुत रचनाहरूको रचनागर्भ आफूले दुई प्रकारका पाएकाे पाैड्यालको भनाइ थियो— कोरोना विशेष र स्वतन्त्र । कोरोना विशेष रचना, नामैले सङ्केत गरेजस्तै, कोरोना कहर सुरु भएपश्चात् यस महामारीलाई केन्द्रमा राखेर यसले मानवीय व्यवहार र दिनचर्यामा कस्तो परिवर्तन ल्याइदियो भन्ने बारेमा केन्द्रित भएको पाइयो । अन्य रचना भने निरपेक्ष रूपमा अन्य अनुभव र अनुभूतिलाई समेटेर विविध समयमा लेखेका रचना थिए ।

 

वाचन गरिएका सिर्जनामाथिको पाैड्यालको टिप्पणी यस्तो थियोः

(क) कोरोना विशेष कविता
साहित्यको वृत्तमा महामारीले मूलधारलाई सधैँ प्रभावित गर्ने गरेको छ । यसले जीवनचर्यालाई मात्रै होइन, सोच्ने तरिकामा पनि परिवर्तन ल्याएको छ । पूर्व होस् वा पश्चिम, सबै सांस्कृतिक भूगोलमा प्रलयवादी चिन्तन विद्यमान छ । पूर्वमा पनि शास्त्रहरूले चार मूल युगहरूमा एउटाको पटाक्षेप प्रलयबाटै हुने र अर्कोको उदय हुने कल्पना गरेका छन् । पश्चिममा, विशेष गरी बाइबलमा पनि बाढीको प्रलय र प्रभुको दोस्रो अवतरणको परिकल्पना छँदैछ । तर, यी युगान्तकारी प्रलयको चिन्तनभन्दा पृथक्, अकल्पित र आकस्मिक महामारी, प्राकृतिक कहर, युद्ध, दुर्घटना आदि पनि आएकै छन् । र, तिनीहरूप्रति साहित्यले सबैभन्दा बढी गम्भीर र संवेदनशील भएको पाइन्छ । कोरोना कालमा हामी यस्तै अर्को एउटा मोडमा खडा छौँ र सिर्जनाले पनि स्वाभाविक रूपमा उक्त कुरालाई अभिव्यक्त गरेको पाइन्छ । चिसाप गोष्ठीमा वाचित कोरोना विशेष सिर्जनाको सारसङ्क्षेप यस्तो थियो—

१. गणेश घिमिरेको “ब्याट्री सकिनै लागेको घडी र म” — यस कविताले एउटा अवरुद्ध समयमा किंकर्तव्यविमूढ मान्छेको मनोविज्ञान बोलेको छ । मान्छेले बनाएका बढाबढा इमारतको स्थिरताजस्तै स्थित भएको छ, समय र मानिसको चेतना । यस स्थितिमा मानव चेतनशून्य अवस्थामा मूर्तिवत् उभिन विवश भएको यथार्थ सुन्दर विम्बहरूमार्फत् यस कवितामा अभिव्यक्त भएको छ ।

२. मन्जिला अनिलको “कस्तो समय” — यस कवितामा महामारीमा प्रकृति र मान्छेका दिनचर्यामा पृथकता देखाउने कोसिस गरिएको छ । प्रकृति आफैँमा मस्त रहँदा, मान्छे आफ्नै कर्तुतका कारण विवश छ । कवितमा एउटा आशा पनि अभिव्यक्त गरिएको छ— सायद मान्छे एउटा शुभ साइतको प्रतीक्षा गरिरहेको छ ।

३. शान्ति शर्माको “म शून्यमा हराएकी छु” — यस कवितामा पनि प्रलयको अघि उभिएको मान्छेको चेतनशून्यतालाई विषयवस्तु बनाइएको छ । विद्रूप समाचारहरूले मन तर्सिंदा, कोपिला मुर्झाएर झर्दा, सबै कुरा टक्क रोकिएजस्तो हुँदा आफू शून्यमा हराएजस्तो कविको अनुभव आजको समयमा मानव मात्रको एउटा साझा अनुभूति पनि हो ।

४. जेनन नेपालको “एन्टिडोट” — यस कवितामा, महामारीमा धेरै कुराका निकास जसोतसो भेटिएला तर भोकको निकास दुर्लभ छ भन्ने भाव प्रकट गरेको पाइन्छ । कवि जेननले पहिले पनि भोक विषयमा सुन्दर कवि लेखेकै छन् । यस कविताले भनेअनुसार बाहिर सन्नाटा भएको अवस्थामा कुँजिएको र चेतना गुमाएको मान्छे न अल्बाट्रोस बनेर उड्न सक्छ, न त हनुमान बनेर । यस्तोमा, सबै सबै कुरा स्थगित हुन सक्ला तर भोकको स्थगन असम्भव छ । यस्तोमा, यो समय एक माना चामलको लागि सबैभन्दा बढी मानिस तड्पिरहेको समय हो । यस कविताका कविले महामारीको सम्पूर्णतालाई समान्यीकरण गर्नुभन्दा खान नपाएर भोकै बस्न अभिशप्त मान्छेहरूको दुःखलाई प्राथमिकताका राख्नुपर्ने विषय उठाएका छन् ।

५. जगन्नाथ पण्डितको कोरोना विशेष छन्द कविता — यस सङ्क्षिप्त र छन्दोबद्ध कवितामा कविले कोरोना कहरलाई “अतिशय भयकारी” भनेर, यसले सिर्जना गरेको विश्वव्यापी त्रासमा आफू पनि संवेदनशील भएको सन्देश दिएका छन् ।

६. गणेश श्रमणको “नाङ्गा पाइतालाले डराउने सरकार” — यो पनि कोरोना कहरबाटै सिर्जत एक परिस्थितिको प्रतिक्रियामा लेखिएको कविता हो । यस कविताले नेपालबाहिर, विशेष गरी भारतको श्रमबजारमा काम गरिरहेका आम नेपाली नेपाल–भारत सिमानामा जसरी रोकिए र प्रवेश पाएनन्, त्यसलाई विषयवस्तु बनाइएको छ । नाङ्गा पाइतालाले स्वदेशको सिमानासम्म आइपुगेका साधारण नेपालीलाई गृहप्रवेश गर्नबाट रोक्ने सरकारलाई डरपोक भनिएको छ । यसमा आम जनताको दुःखप्रति असंवेदनशील रहेको वर्तमान नेपाल सरकारको तीव्र आलोचना गरिएको छ, र आफ्ना जनतालाई सकुशल र सुरक्षित देश भित्र्याउन पहल नगरेकोमा ऊ एक डराएको व्यवस्था हो भनिएको छ ।

(ख) स्वतन्त्र सिर्जना
समयनिरपेक्ष हिसाबले विविध विषयमा रचना गरिएका, आफ्ना निजी, सर्वकालीक र स्वतन्त्र अभिव्यक्तिसहितका रचना पनि चिसापको कवि गोष्ठीमा वाचित भएका थिए । विविध संरचना, शैली र भावका उक्त सिर्जना यस प्रकार थिए —

१. टीका आत्रेयको “आमा बनेको दिन” — शार्दूलविक्रीडित छन्दमा रचित, र लयबद्ध तरिकाले वाचन गरेर सुनाइको यस कवितामा आमा हुनुको अनुभूतिलाई एउटा विशाल गौरवको विषय मानिएको छ । एउटा मृत्युलाई परास्त गरेर सन्तानलाई जन्म दिने आमाको महत्ता यस कवितामा दर्शाइएको छ । एउटी नारी र आमाको अनुभवको जगमा उभिएको हुँदा यस कविताको प्रभाव पक्ष झनै तीव्र बनेर आएको अनुभव गरिएको छ ।

२. डा. कुसुमाकर न्यौपानेको कौरा गीत — यो सङ्कलित रचना हो । यसको प्रस्तुतिमा संस्कृति, विशेष गरी लोकसङ्गीतमा दख्खल राख्ने डा. कुसुमाकर न्यौपानेले कौरा गीतको स्वभावको व्याख्या गर्दै यसलाई आफ्नो सुन्दर गायनकलामार्फत् प्रस्तुत गरेका थिए । कैराको आरम्भमा मङ्गलाचरण, बीचमा प्रेमप्रणय, विवाह आदि विविध विषय र अन्त्यमा विदाइका प्रसङ्ग रहने गरेको संरचनागत जानकारी पनि दिए । उनले गाएर सुनाएको टुक्रामा प्रेम–प्रणयको गीतिसंवाद थियो ।

३. शिव त्रिपाठीको “यादमा तिम्रै पर्न मजा छ” — स्वनिर्मित छन्दमा कवि त्रिपाठीले गाएर यो रचना प्रस्तुत गरेका थिए । प्रेमको गहिराइमा डुबिरहँदा त्यसमा अलिअलि पीडा नै भए पनि त्यो स्वीकार्य हुने अभिव्यक्ति उनको थियो । रुमानी, विशेष गरी शृङ्गारिक भावको यो कविता अथवा गीतले प्रेमीको कल्पनामा रमिरहनुको रोमाञ्चलाई प्रस्तुत गरेको छ ।

४. एलबी क्षेत्रीको “भीडमा हराएको मान्छे” — इमान्दार कन्फेसनल शैलीमा लेख्ने कवि एलबी क्षेत्रीको यो कविता पनि कन्फेसनल नै हो । यसमा यस्तो एउटा पुरुषको चित्रण गरिएको छ, जसको आत्मशक्ति कमजोर छ, जो आत्महारा छ, जो वासनाहरूको दास छ, जो परजीवी र स्वार्थी छ, जो घरको जिम्मेवारी सबै परिवारमा छोडेर बाहिरी भूलभुलैयामा हराएको छ र जो अन्ततोगत्वा भीडमा हराएको एउटा अनाम पात्र बन्न अभिशप्त छ । पहिचान र अस्तित्वको दृष्टिले एक गम्भीर विषय कवितामा उठाइएको छ । व्यस्तताको खोलमा निरत्नर आत्महारा र परजीवी हुँदै जानेहरू भीडमा विलय भएर अस्तित्व र पहिचानविहीन हुँदै जान्छन् भन्ने एउटा शाश्वत सत्य कविताले पाठकसामु राखेको छ ।

५. महानन्द ढकालको गजल — “जिन्दगीको लगाऊ दाउ विचार गरेर” भन्ने हरफबाट सुरु हुने यो गजलमा गजलकारले छोटो रहेको मन्छेको जुनीमा सचेत पाइलाहरू चालेर लोककल्याणको काम गर्नुपर्ने सल्लाह दिएका छन् । गजलमा उनी संसार हेर्न त मचान चढेरै पनि सकिएला, तर मान्छेको घाउमा हेर्न सिक्नु ठूलो कुरा हो भन्ने सल्लाह दिन्छन् । मान्छेको आँखाको समवेदना चिन्नु, पीडामा मल्हम लगाउनु, र आउँदाजस्तो जाँदा पनि खाली हात जानुपर्ने जुनीमा यो समाज र देश बनाएर जानुको उपादेयता यस गजलले दर्शाएको छ ।

६. भूपिनको “सेतो हात्तीमा सवार भएर” — यस कवितामा कवि भूपिन चरम राजनीतीकरणका कारण देश बुद्धको शान्तिसन्देशप्रति संवेदनहीन हुँदै गएको यथार्थमाथि कटाक्ष गरेका छन् । बुद्धलाई हल्लाको सेतो हात्तीमा चढेर सवार भएको कल्पनाबाट उठान गरिएको कवितामा कट्टरवादी, राष्ट्रवादी, क्रान्तिकारी, अनेक प्रकारका प्रशासकहरू यस्तै हल्लामा चेतना गुमाइरहेका छन् । कसैलाई पनि बुद्धको अहिंसा, शान्तिसन्देश र आदर्शमा चासो छैन । बरू बुद्धसँग सेल्फी खिच्नमा चासो छ । घृणित र तुच्छ राजनैतिक स्वार्थका कारण चेतनाको दैलो बन्द गरिसकेकाहरू माथिको प्रहार यस कविताको मूल अभीष्ट हो ।

७. डा. दिनेश शर्माको “पिता” — देहरादून भारतका कवि डा. दिनेश शर्माको “पिता” शीर्षकको हिन्दी कविताले पिताको मूल्य, आदर्श र महानताको गुणगान गरेको छ । अप्ठेरोमा धीर बनेर हिँड्नू, आफ्नो मूल्य नगुमाउनू, र सधैँ लोककल्याणका लागि सत्यपथमा हिँडिरहनू भन्ने शिक्षा दिने पिताको गरिमा यस कविताले गाएको छ । स्मरण रहोस्, डा. शर्मा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीका कविता पनि अनुवाद गरिरहेका छन् ।

८. वनमाली निराकारको “सिद्धार्थ” — कवि निराकारको यस कविताको मूल प्रश्न हो — यस बेला जन्मेका भए बुद्ध के गर्थे ? कुन पार्टीमा लाग्थे? कसका लागि लड्थे ? कविले अहिलेको समय अतिशय प्रतिकूल भएको आशय कवितामा प्रकट गरका छन् । धेरै तर्क र कित्ताहरूमा विभक्त भएको समयप्रतिको उनको असन्तुष्टि कवितामा स्पष्ट रूपमा प्रकट भएको छ । कविताको अन्त्यतिर उनले एउटा प्रभावशाली विम्बमार्फत् आफ्नो तिक्तता प्रकट गरेका छन् । भन्छन्, सिद्धार्थले एउटा भिक्षापात्र यानि कचौरो दिए, जसलाई हातमा लिएर देश भिक्षाटनमा निस्केको छ । देशको निर्धनता र निर्जल्ल लाचारीको यो एउटा प्रभावशाली अभिव्यक्ति हो यो ।

९. गोविन्द विनोदीको “आफ्नै छायासित” — छन्द कवितामा महारथ प्राप्त गरेका अग्रज कवि गोविन्द विनोदीले आफ्नो यसै शीर्षकको कविताको एक अंश सुनाएका थिए । कवितामा मान्छे र छायाको सम्बन्ध नङ र मासुको जस्तो अविभाज्य रहेको तर्क छ । सुखदुःखमा सधैँ मान्छेको साथमा रहने गरेको छाया कविताको मूल विषय हो ।

१०. राधा कोइरालाको “प्रण” — नारी संवेदनाबाट अनुप्राणित यस कवितामा बाबा, भाइ, दाजु वा अन्य सबै पुरुषलाई नारीप्रति सम्वेदनशील हुन, सम्मान गर्न, उनीहरूका सपना बचाउन, र सहयोग गर्न अपिल गरिएको छ । छोरीको भविष्यमा पनि आफ्नो सपना देख्न पुरुष समुदायलाई एउटा बलियो प्रण लिन आह्वान गरिएको छ । कविताभित्र नारीहरूमाथिको थिचोमिचो र अत्याचारका विम्बहरू पनि छन् । तर नारी अधिकारका लागि लडिरहने पुरुषहरूप्रति मौन भएकोले भने कविता अलि एकाङ्गी छ ।

११. महेश पौड्यालका तीन कविता — महेश पौड्यालले “सिसा, शीत र प्रिया”, “सम्राट र बच्चाहरू” र “पहाड र हामी” शीर्षकका कविता वाचन गरेका थिए ।

१२. सुरेन्द्र अस्तफलको “प्रिय बुद्ध” — यस कवितामा कवि अस्तफलले आफू घरव्यवहार, संसार, जिम्मेवारी सबै छोडेर बुद्धजस्तो त्यागी बन्न नसक्ने, तर उनका आदर्शबाट प्रेरित भने हुन सक्ने अभिव्यक्ति दिएका छन् । आफू संसारी भएको यथार्थलाई स्वीकार गर्दै उनले बुद्धको “निरञ्जना नदीको तट”को विम्ब आफू वरिपरि रहेको स्वीकारोक्ति गरेका छन्, जसको अर्थ हो, बुद्धको कंटकाकीर्ण मार्ग सांसारिकहरूका लागि व्यावहारिक नभए पनि उनको आदर्शबाट अनुप्राणित हुन सम्भव छ, जुन कुरा कविताले बोलेको छ । र, यो यथार्थ पनि हो । यस अर्थमा, कवि अस्तफलको यो कविता इमान्दार र सुन्दर छ ।

समीक्षक पाैड्यालको सुन्दर समीक्षाअघि कार्यक्रममा चिसापका पूर्व अध्यक्ष श्रीभक्त अच्युत वाग्ले, बालकृष्ण थपलिया र डा. कृष्णप्रसाद पौडेल, सुमित्रा न्यौपानेले कार्यक्रमको सफलताको कामना गर्दै असल श्रोताको रूपमा कार्यक्रमको अन्त्यसम्म रहने बताउनुभएको थियो ।

यस गोष्ठीको अन्त्यमा नियात्राकार तथा समाजसेवी जीवा लामिछानेले जर्मनीबाट सबैलाई शुभकामना दिँदै र गोष्ठीले आफूलाई रोमाञ्चित तुल्याएको जनाउनुभयो । आफूले कविता नलेखे पनि सानैदेखि बुबाबाट सुनेका “रामायण”, “महाभारत” र “गुणरत्नमाला”ले कविता प्रतिको मोह सिर्जना गरेको बताउनुभयो । जगन्नाथ गुरागाइँको “गुणरत्नमाला” त आधाभन्दा पनि बढी आफूलाई कण्ठ रहेको भन्दै लामिछानेले यसबाट एउटा प्रख्यात श्लोक पनि वाचन गरेर सुनाउनु भएको थियो, जुन यस्तो थियो— “मुसाको सिङ मिल्ला बरू कतै संसार घुम्ने गरे । प्राणै देऊ परन्तु मूर्ख कहिल्यै रिझ्दैन कस्तै गरे ।” उहाँले “गुणरत्नमाला”ले जीवनका आदर्श र नैतिकताका साथै व्यापारका सूत्र पनि सिकाएको जिकिर गर्नुभयो । उहाँले अन्त्यमा आफ्नो नयाँ नियात्रा सङ्ग्रह “देश–देशावर” छिटै पाठकसामु आइपुग्ने पनि जानकारी दिनुभयो ।