काठमाडौँको डिल्लीबजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय बनाउने प्रक्रिया सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सो सङ्ग्रहालय निर्माणका लागि बोलपत्र आह्वान गरेसँगै प्रक्रिया सुरू भएकाे हाे ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय निर्माणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘विगतमा सङ्ग्रहालय निर्माण गरेका कम्पनीहरूका लागि २१ दिनको म्याद राखी बोलपत्र आह्वान गरिएको छ । सम्पूर्ण प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षभित्रमा नै छनोट भएका कम्पनीसँग निर्माण सम्झौता गरिने छ ।’’
निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेटको समेत सहमति प्राप्त भइसकेको र निर्माणका लागि कुनै बाधाअड्चन नरहेकाले आर्थिक वर्ष २०७८/७९ को साउनदेखि काम सुरु हुने बताइएकाे छ । सो सङ्ग्रहालय निर्माणका लागि यसअघि नै विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।
महाकवि देवकोटाको घरलाई सरकारले खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि प्रतिष्ठानले सङ्ग्रहालय निर्माण प्रक्रिया अगाडि बढाएको हाे ।
सङ्ग्रहालय भवनको पहिलो तल्लामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध सामाग्री, दोस्रो तल्लामा देवकोटाका प्रकाशित, अप्रकाशित र पाण्डुलिपि सङ्ग्रह गरिने भएको छ । भवनको तेस्रो तल्लामा परामर्श कक्ष र सभाकक्ष निर्माण गरिने छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायले सङ्ग्रहालयको निर्माणसँगै नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाप्रति मात्र सम्मान नभएर सिङ्गो नेपाली साहित्य र साहित्यकार नै सम्मानित हुने वातावरण तयार हुने बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।