माई माइक नेपाल फेसबुक लाइभमार्फत साङ्गीतिक साँझको कार्यक्रम गर्ने भएको छ । साङ्गीतिक साँझ भनिए पनि कार्यक्रममा कविता तथा गजल पनि प्रस्तुत गरिनेछ । समय-समयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको यस समूहले यसपटक पनि एउटा पृथक् र परोपकारी कार्यक्रम सञ्चालन गर्न गइरहेको हो ।

मनोरञ्जन दिएर दर्शक एवं स्रोताहरूबाट स्वेच्छाले केही आर्थिक सहयोग उठाएर पूर्णत: कोरोनाविरुद्ध राहतका निम्ति पारदर्शी रूपमा खर्च गरिनेछ ।

कोरोनाबाट प्रताडित हाम्रो समाजमा केही सहयोग र सेवा साथसाथै दर्शकहरूलाई मनोरञ्जन पनि होस् भन्ने मनसायले यस समूहले यसपटक फेसबुक लाइभबाट यही जेठ ८ गतेदेखि केही समयसम्म आर्थिक सहयोग उठाउने जमर्को गर्दै छ । विशेषतः साङ्गीतिक साँझको कार्यक्रम भए पनि सङ्गीतबाहेक कविता र गजलजस्ता साहित्यिक विधामा कलम चलाउने साधकहरूलाई पनि यसमा समावेश गरिने कुरा यस समूहका एक व्यवस्थापक सञ्जीव पोखरेलले साहित्यपोस्टलाई जानकारी दिएका छन् ।

स्वरसम्बन्धी विभिन्न कलाहरूलाई प्रोत्साहन गर्दै त्यस क्षेत्रमा आबद्ध कलाप्रेमीहरूको साझास्थल बन्न पुगेको एउटा सार्वजनिक समूह हो माई माइक नेपाल (My Mic Nepal) । सामाजिक सञ्जालको माध्यमबाट विभिन्न कलाहरूलाई स्थान दिँदै आएको यस समूहका संस्थापक अहिलेका चर्चित Storyteller साईँग्रेस हुन् ।

विशेषतः फेसबुकमा चर्चामा रहेको यस समूहमा करिब सत्तरी हजार सदस्य छन्, जहाँ दिनमा २० देखि ३० वटा सम्म नयाँ भिडियोहरू प्रसारित हुन्छन् र दैनिक ३००-४०० नयाँ सदस्यहरू जोडिन्छन् ।

फेसबुक लाइभमा माई माइक नेपाल फेसबुक ग्रुपमार्फत http://(https://www.facebook.com/groups/MMNepal/) जाेडिन सकिने छ । कार्यक्रम जेठ ८ गते शनिबार, साँझ ७ बजेबाट सुरु हुँदै छ ।