Chovar Blues Mobile Size

खतिवडा र मजगैयाँ

नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) तथा सेवा आयोगको अध्यक्षमा साहित्यकार तथा प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गरेको छ ।

नवनियुक्त शिक्षाध्यक्षमा वरिष्ठ साहित्यकार प्रा.डा. भीमप्रसाद खतिवडा र सेवा आयोगको अध्यक्षमा पूर्वीय धर्मशास्त्रका विशिष्ट ज्ञाता तथा द्रष्टा प्रा. श्रीधर मजगैयाँ नियुक्त हुनु भएको हो ।

यस नियुक्तिलाई साहित्यिक तथा प्राज्ञिक जगतले निकै महत्त्वपूर्ण नियुक्तिका रूपमा लिएका छन् ।

संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्षमा नियुक्त डा. खतिवडा झापाको शिवसताक्षीमा वि.सं. २०२७ चैत्र २८ गते जन्मिएर हाल धरान उपमहानगरपालिका–८ स्थायी बसोबास गर्दै आउनुभएको छ र ५० वर्षको उमेर पनि नहुँदै नेपाल संस्कृत विश्वविद्यालयको प्राध्यापक जस्तो उच्च गरिमामय पदमा पुग्नुभएका उहाँ धरानस्थित पिण्डेश्वर क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत हुनुहुन्छ ।

संस्कृत साहित्यमा आचार्य, नेपालीमा एमए र ‘परिणामनाटकस्य समालोचनात्मकमध्ययनम्’ विषयमा संस्कृतमा नै विद्यावारिधि उपाधि प्राप्त डा. खतिवडा नेपाली, संस्कृत, अङ्ग्रेजी, हिन्दीलगायतका बहुभाषाका ज्ञाता, वक्ता तथा स्रष्टासमेत हुनुहुन्छ ।

प्राचीन संस्कृत साहित्यशास्त्रका साथै पूर्वीय जगत्का विविध विषयका अध्येता, आधिकारिक ज्ञाता र प्रामाणिक व्याख्याता तथा आधुनिक प्रविधिका समेत विशिष्ट प्रयोक्ता खतिवडा विद्यार्थी कालदेखि नै साहित्य सिर्जनामा समर्पित हुनुहुन्छ ।

२०५२ सालमा नेपाली एमएको शोध तथा सिर्जनात्मक लेखनअन्तर्गत ‘वेदना’ महाकाव्य लेखेर आफ्नो अद्भुत कविप्रतिभाको परिचय दिइसक्नुभएका डा. खतिवडाका नेपाली भाषामा ‘केशव’ (शोककाव्य, २०६०), ‘मन दुखेको माटो’ (गजलसङ्ग्रह, २०६७), ‘सन्दर्भ ः संस्कृत साहित्यको’ (समालोचनासङ्ग्रह, २०६८), ‘शब्दहरूको शिविर’ (हाइकुसङ्ग्रह, २०७७) र ‘गो ब्याक’ (हाइबुन, २०७८) गरी पाँचओटा र संस्कृत भाषामा ‘पर्यवेक्षणम्’ (समालोचनासङ्ग्रह, २०६६), ‘संस्कृते दुःखान्तनाट्यसिद्धान्तपरीक्षणम्’ (समालोचना, २०६७), ‘पाश्चात्याधुनिकनाट्यसिद्धान्तः संस्कृतनाटके तत्परीक्षणञ्च’ (समालोचना, २०६७), ‘वियोगान्तं न नाटकम्’ (संस्कृतनाट्यसिद्धान्त, २०६७) र ‘अनुशीलनम्’ (समालोचनासङ्ग्रह, २०६८) पाँचओटा गरी दशओटा कृतिहरू प्रकाशन भइसकेका छन् ।

यसका अतिरिक्त ‘वेदना’ र ‘सिद्धार्थ बुद्ध’ दुई महाकाव्यका साथमा सिर्जना तथा समालोचना क्षेत्रका झन्डै एक दर्जन कृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेका डा. खतिवडा नेपाल विद्याभूषणलगायतका दर्जनौँ शैक्षिक, साहित्यिक तथा सांस्कृतिक पदक, पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुहुन्छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका झन्डै एक दर्जन साहित्यिक तथा सांस्कृतिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नवनियुक्त प्रा. श्रीधर शर्मा मजगैयाँ संस्कृतका विशिष्ट विद्वान्, जनता क्याम्पस, बिजौरी दाङका पूर्व क्याम्पस प्रमुख, सेवा आयोगका पूर्वसदस्य तथा विश्वविद्यालयकै सेवानिवृत्त प्राध्यापक हुनुहुन्छ ।
वि.सं. २०१२ कार्तिक १९ गते दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीमा जन्मिएर धर्मशास्त्रमा आचार्य, राजनीतिशास्त्रमा एमए र कानुनमा बीएलसम्मको उच्चशिक्षा हासिल गरी प्राज्ञिक एवम् बौद्धिक क्रियाकलापमा समर्पित हुनुहुन्छ ।

विद्यार्थी कालदेखि नै संस्कृत तथा नेपाली भाषा साहित्यसँग सम्बन्धित विविध बौद्धिक कार्यमा संलग्न उहाँको ‘मजगैयाँ वंशको इतिहास तथा वंशावली’ नामक कृति प्रकाशन भएको छ भने ‘ऋतम्भरा’, ‘मधुपर्क’, ‘मर्यादा’, ‘राप्ती सङ्गम’, ‘हैमप्रभा’ जस्ता राष्ट्रिय तथा जिल्लास्तरीय पत्रपत्रिकामा दर्जनौँ अनुसन्धानमूलक लेखरचनाहरू प्रकाशन भइसकेका छन् । मुख्य रूपमा संस्कृत शिक्षाको आधुनिकीकरण, संस्कृत तथा नेपाली भाषा साहित्यको उन्नयन र विश्वविद्यालयीय शैक्षिक सुधारका लागि सदैव सक्रिय प्रा. मजगैयाँले शैक्षिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक क्षेत्रका दुई दर्जनभन्दा बढी स्थानीय तथा राष्ट्रिय सङ्घसंस्थाहरूमा सक्रियताका साथ काम गरिसक्नुभएको छ भने उहाँको प्राज्ञिक योगदानको उच्च मूल्याङ्कन गरी विभिन्न सङ्घसंस्थाहरूले उहाँलाई आधा दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत गरिसकेका छन् ।

प्रायः विश्वविद्यालय तथा अन्य प्राज्ञिक निकायमा नियुक्ति हुँदा राजनीतिक आस्थाका आधारमा अयोग्यहरूले प्रवेश पाउने गरेको आरोप लाग्दै आएको समयमा नेपाल संस्कृत विश्वविद्यालयमा भएको यस नियुक्तिप्रति भने प्राज्ञिक जगत् निकै उत्साहित देखिएको छ ।

विशिष्ट साहित्य सर्जक, सम्बन्धित निकायका विज्ञ, शिक्षामा गुणस्तरीय सुधार ल्याउनुपर्ने मान्यताका अभियन्ताहरू र वर्तमान शैक्षिक तथा सामाजिक अवस्थालाई राम्ररी बुझेका बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्वहरूको नियुक्तिले गर्दा नेपाल सरकार पनि बधाईको पात्र बनेको छ ।

विश्वविद्यालयको दाङस्थित केन्द्रीय कार्यालयमा पुगेर आजै पदभार ग्रहण गरिसक्नुभएका नवनियुक्त दुवै प्राज्ञिक व्यक्तित्वलाई ‘साहित्यपोस्ट’का तर्फबाट पनि बधाई तथा सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।