साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

१६ बुँदे घोषणापत्रका साथ इन्स सम्मेलन सम्पन्न

Chovar Blues Mobile Size

 

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले तीन दिने विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न गर्यो । वैशाख १०, ११ र १२ गते सम्पन्न सो सम्मेलनले १६ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छ ।
आफ्नो आधिकारिक फेसबुक पेज मार्फत समाजले १६ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा नेपाली भाषा, साहित्य एवम् कलाको क्षेत्रमा विशेष योगदान पुर्‍याउनु भएका एक जना विशिष्ट व्यक्तित्वलाई हरेक वर्ष रू. १०००००।- (अक्षरेपि एक लाख) बराबरको इन्स (INS) सम्मान तथा पुरस्कार प्रदान गरिने; एक लोपोन्मुख भाषाको अभिलेखीकरण गर्नका लागि विद्वद्वृत्ति प्रदान गर्ने, लामो समयदेखि सिर्जना गर्दै आउनुभएका साहित्य एवम् कलाका क्षेत्रमा समर्पित सर्जकहरूलाई राज्यको तर्फबाट विशेष सेवा सुविधाका लागि पहल गर्ने लगायतका महत्त्वपूर्ण बुँदाहरु समेटिएका छन्।

घोषणापत्रमा समेटिएका १६ बुँदाहरु यस प्रकारका छन्ः
१. स्रष्टाहरूको स्तरीय कृतिलाई प्रकाशन गर्न प्रोत्साहन गर्ने र त्यस्ता कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने;
२. मानवीय मूल्य मान्यताको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्नका लागि धर्म र संस्कृतिको रक्षा गर्ने एवम् सामाजिक कुप्रथालाई निर्मुल गर्न साहित्यमार्फत् सचेत गराउँदै लैजाने;
३. नेपाली समाजमा व्याप्त लैङ्गिक विभेदको अन्त्यका लागि कला-साहित्य सिर्जना एवम् विचार विमर्श गर्ने, गराउने;
४. मातृभाषा तथा लोपोन्मुख भाषाको अभिलेखीकरण (Documentation) एवम् साहित्य लेखनलाई प्रोत्साहन गर्ने;
५. गजल विधा लेखनमा बहर र गैर-बहरबीच स्वस्थ वहस, विचार-विमर्श गर्दै विद्यालय एवम् विश्वविद्यालयका विभिन्न तहहरूमा एउटा छुट्टै विषयका रूपमा पठनपाठनमा समावेश गराउन पहल गर्ने;
६. नेपाली भाषा तथा साहित्यमा कलम चलाउने प्रवासी नेपाली स्रष्टाहरूलाई समेत अन्तरविश्वविद्यालय स्तरीय विचार, विमर्श र विभिन्न विधागत प्रतियोगिताहरूमा प्रतिस्पर्धा गराउने;
७. अन्तर्राष्ट्रिय नेपाली समाजले नेपाली भाषा तथा साहित्यको विकासको लागि नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, विश्वविद्यालयहरू र नेपाली मुलका प्रवासीद्वारा संचालित संघसंस्थाहरूसँग समन्वय गर्ने, गराउने;
८. अन्तर्राष्ट्रियस्तरमा नेपाली र नेपालका विश्वविद्यलयमा विदेशी मूलका प्रमुख भाषा-साहित्यलाई तुलनात्मक अध्ययनका रूपमा अध्ययन-अध्यापन गराउन अनुरोध गर्ने;
९. विद्यालय तथा विश्वविद्यलयका पाठ्यक्रममहरूमा प्रवासी नेपालीले लेखेको सिर्जना समावेश गराउनका साथै विषय विज्ञताका आधारमा स्रोत व्यक्तिका रूपमा सहभागी गराउन पहल गर्ने;
१०. विभिन्न विश्वविद्यालयको दर्शनाचार्य वा सिधै विद्यावारिधिको अध्यापन गराइने स्तरमा लोकसाहित्यलाई विषयको रूपमा समावेश गराउन पहल गर्ने;
११. एथ्नोग्राफी (डिजिटल सहित), फेनोमेनोलोजी, वर्णनात्मक आदि जस्ता अनुसन्धान पद्धतिका विधिहरूलाई पनि नेपाली साहित्यको अध्ययनमा संलग्न गराउन प्रोत्साहन गर्ने;
१२. प्रवासी नेपालीलाई समेटेर सरकारी एवम् गैर-सरकारी रेडियो वा टेलिभिजनबाट नियमित नेपाली तथा मातृभाषा साहित्य सम्बन्धी कार्यक्रमहरू गर्ने, गराउने;
१३. लामो समयदेखि सिर्जना गर्दै आउनुभएका साहित्य एवम् कलाका क्षेत्रमा समर्पित सर्जकहरूलाई राज्यको तर्फबाट विशेष सेवा सुविधाका लागि पहल गर्ने;
१४. विश्वव्यापी रूपमा देखा परेको जलवायु परिवर्तन र यसले पाररिरहेको प्रभावबारे अध्ययन तथा सिर्जना गर्ने स्रष्टा-अध्येयताहरूलाई प्रोत्साहन गर्ने
१५. नेपाली भाषा, साहित्य एवम् कलाको क्षेत्रमा विशेष योगदान पुर्‍याउनु भएका एक जना विशिष्ट व्यक्तित्वलाई हरेक वर्ष रू.१०००००।- (अक्षरेपि एक लाख) बराबरको इन्स (INS) सम्मान तथा पुरस्कार प्रदान गरिने;
१६. कुनै एक लोपोन्मुख भाषाको अभिलेखीकरण गर्नका लागि विद्वद्वृत्ति प्रदान गर्ने।

 

प्रतिक्रिया
Loading...