गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार दिउँसो बसुन्धरास्थित न्युरो अस्पतालमा उनको निधन भएको हो ।
उनलाई श्वास लिन समस्या भएपछि बिहानै अस्पताल पुर्याइएको थियो ।
उनलाई कोरोना संक्रमण भने नभएको चिकित्सकहरूले जनाएका छन् ।
वि.सं. १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका उनले नेपाली आधुनिक गायनमा एक से एक हिट गीत दिएका छन् । घुम्तीमा नआऊ है, तिमीलाई अचेल कहाँ भेटूँ, गोरेटो यो गाउँको, पर लैजाऊ फूलहरू लगायत दर्जनौँ गीतहरू एक से एक हिट छन् ।
८४ वर्षीय प्रधानले २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर उत्तीर्ण भएपछि औपचारिक गायन शुरू २०१६ सालबाट गरेका थिए ।
गायक प्रधानको स्वर मात्र मिठो नभएर हेर्दाका पनि आकर्षक भएकाले उनलाई बलिउडमै फिल्म उद्योगमा संघर्ष गर्ने सुझाव त्यो बेला माला सिन्हाले दिएको किस्सा अद्यपि चल्ने गर्छ ।
त्यस्तै गायक प्रधान, गीतकार रत्नशम्शेर थापा तथा गायक नारायणगोपालको तिगडीले त्रिचन्द्र क्याम्पसमा पढ्दाताका तहल्का मच्चाउने गरेको थियो । पछि नारायणगोपालले तबला बजाउन छाडेर गायनमा प्रयास गरेका थिए र यसका लागि गायक प्रधानले उनलाई जोड दिने गरेका थिए ।
आमा प्राणदेवीमा तबला वादनको राम्रो ज्ञान थियो । आमाले तबला बजाउँदा उनले स्वर दिने गर्थे । पछि उनको गायकी निखारियोस् भनी आमा प्राणदेवीले उस्ताद गणेशलालकहाँ संगीत शिक्षा लिन पठाएकी थिइन् ।
नेपाली फिल्म माइतीघरको संगीतकारमा छनोट भएका भारतीय संगीतकार जयदेव काठमाडौँ आएका बेला उनको स्वर मन पराई उनैलाई ‘नमान लाज यसरी’ गाउन छनोट गरेका थिए ।
पछिल्लो समय उनले पलेँटी शृंखलामा आफ्नो गायन प्रस्तुत गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।