साहित्य, पुस्तक र पठन संस्कृतिका लागि सक्रिय प्रतिष्ठित फेसबुक ग्रुप बूकाहोलिक्सले सञ्चालन गरिरहेको लकडाउनमा स्रष्टासँग साक्षात्कार चौथो हप्तामा प्रवेश गरेको छ ।

बूकाहोलिक्सले गत महिनाको १७ तारिकबाट अनलाइन कार्यक्रम सुरु गरेको थियो । यो साक्षात्कारमा विभिन्न स्रष्टाहरुले हरेक दिन बूकाहोलिक्सको फेसबुक ग्रुपमा आएर आफ्नो लेखन अनुभव सुनाउँनुका साथै रचना वाचन गर्ने गर्छन् ।

कार्यक्रमको आवश्यकताका बारेमा बूकाहोलिक्सले आफ्नो ग्रुपमा भनेको छ – लकडाउनमा बस्नुलाई हामी थुनिएको नठानौँ, बरु यो समयलाई आफ्नो लागि, आफ्नो रुचिका लागि र आफुसँग सम्बन्धित कुराहरुलाई समय दिन पाइएको अवसरका रुपमा बुझौँ । यो सोचाइले हाम्रो मनोबलमा फरक पार्छ । मनोबलले स्वास्थ्यमा फरक पार्छ । यसैले यो समयलाई हामी चिन्तामा होइन, चिन्तनमा लगाऔँ । यसै पनि चिन्ता कि चिन्तन भन्ने फरक केवल सोचाइको हो । उहि सोचाइ नकारात्मक भए चिन्ता र सकारात्मक भए चिन्तन बन्न सक्छ । हामी केहिबेर साहित्यमा चिन्तन गरौँ । अग्रज वा अनुभवीका कुरा सुनौँ । विमर्श गरौँ । यहि अवधारणाका लागि बूकहोलिक्सले हरेक दिन एक जना लेखकसँग अनलाइन साक्षात्कारको कार्यक्रम सुरु गरेको हो ।

‘लकडाउनमा मानिसहरु घरैमा बसेका छन् । पट्यारलाग्दो यो समयमा हाम्रो समूहले सकेको उपयोगी बनाउन यो कार्यक्रम परिकल्पना गरिएको हो ।’ बूकाहोलिक्सका एड्मिन सगुना शाहले भन्नुभयो, ‘पठन संस्कृतिका लागि लेखक र पाठकबीच सम्बन्ध कायम भइरहनु पर्छ । हाम्रो यो सानो प्रयासले पाठक र सर्जकबीच सेतुको काम गर्छ, भन्ने सोचेका छौँ ।’

बूकाहोलिक्सको साक्षात्कारमा अहिलेसम्म २० जना स्रष्टाहरुले आफ्नो अनुभव सुनाउँने तथा रचना वाचन गर्ने गरिसकेका छन् ।