नेपालका दुई ठूला प्रकाशकबीच युवल नोह हरारीद्वारा लिखित विश्व चर्चित पुस्तक ‘सेपियन्स’काे नेपाली अनुवादलाई लिएर जुहारी चलेकाे छ ।
नेपालमा व्यावसायिक ख्याति कमाएकाे फाइन प्रिन्टले धेरैअघि ‘सेपियन्स’काे अनुवाद गर्ने कानुनी अधिकार पाएर काम अघि बढाइरहेकाे बेला अर्काे प्रकाशन गृह बुकहिलले उक्त पुस्तककाे अनुवाद गर्ने कानुनी अधिकार आफूले पाएकाे दाबीसहित फेसबुक स्टाटस लेखेपछि फाइनप्रिन्ट सचेत भएकाे हाे ।
बुकहिलका प्रकाशक भूपेन्द्र खड्काले आफ्नाे कम्पनीले सेपियन्सकाे अनुवाद अधिकार पाएकाे भन्दै अनुवादक खाेज्न फेसबुक स्टाटस लेखेपछि त्यसकाे चाेटिलाे जवाफ फाइनप्रिन्टका अजित बरालले दिएका छन् ।
“युवल नोआ हरारीको विश्व चर्चित पुस्तक सेपियन्सको नेपाली अनुवाद स्वीकृति प्राप्त भएको छ,” खड्काले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए, “सक्षम अनुवादकले इमेल वा मेसेज बक्समा लेख्नुहोला ।”
खड्काको स्टाटसपछि विश्व स्तरीय किताब नेपाली भाषामा आउने कुरा राम्राे भएको भन्दै प्रतिक्रिया आइरहेका बेला फाइप्रिन्टका अजित बरालले धेरैअघि उक्त पुस्तक आफ्नाे कम्पनीले अनुवाद गर्ने अधिकार लिएकाे दाबीसहित कुनै कम्पनीकाे हल्लाकाे पछाडि नलाग्न सचेत गराएका थिए । बरालकाे उक्त स्टाटसपछि खड्काले आफ्नाे स्टाटस हटाएर नयाँ दाबीसहित नयाँ स्टाटस लेखेका छन् ।
फाइनप्रिन्टका बरालले ‘सेपियन्स’को नेपाली भाषाको विश्वव्यापी अनुवादका अधिकार फाइनप्रिन्टसँग सुरक्षित भएको जनाउँदै लेखे, “युवल नोआ हरारीको बहुचर्चित पुस्तक सेपियन्सको नेपाली अनुवादका लागि आफूलाई स्वीकृति प्राप्त भएको भनेर केही स्टाटस फेसबुक र ट्विटरमा देखिएकोबाट पाठक र अनुवादकहरूमा अनावश्यक भ्रम सिर्जना हुन गएको छ ।”
बरालले अगाडि लेखेका छन्, “उक्त पस्तकको नेपाली भाषाको विश्वव्यापि अनुवाद अधिकार फाइनप्रिन्टसँग सुरक्षित छ । सन् २०२० अक्टोबरमा सम्झौता भई अनुवादको काम पनि अगाडि बढिसकेको छ । सन् २०२२ जनवरीमा उक्त पुस्तक बजारमा आउने तालिका छ । तसर्थ बजारमा आइरहेको कपोकल्पित एवम् भ्रामक सूचनामा सत्यता नरहेको जानकारी गराउँछौँ ।”
बरालको स्टाटसपश्चात् बुक हिलका भूपेन्द्रले आफ्नो सेपियन्ससम्बन्धी पुरानो पोस्ट डिलिट मात्र गरेनन्, बरालकै स्टाटस सेयर गर्दै कम्युनिकेसन ग्यापका कारण भ्रम फैलिन गएकोमा क्षमाप्रार्थी भएको जनाए ।
खड्काले बरालको स्टाटस सेयर गर्दै लेखेका छन्, “पेन्गुइन र्याण्डम हाउस र हरारीकी लिटलरी एजेन्ट डेनिएल टेलरका बीच कम्युनिकेसन नभएकाले यस्तो भएको हो । पेन्गुइन र्याण्डम हाउससँगको बुक हिलको पूर्वशर्त रद्द भएको जानकारी गराउँदछु । साथै, हाम्रो समाचारले कसैमा भ्रम फैलन गएको भए क्षमाप्रार्थी छौँ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

