आख्यानकार दीपक प्याकुरेलको उपन्यास ‘उबर’ बजारमा आएको छ । डायस्पोरिक भावभूमिको उपन्यास ‘उबर’ अमेरिकी भूमिबाट स्वदेश सम्झेर लेखिएको प्याकुरेलको नवीनतम् कृति हो ।

लामो समयदेखि अमेरिकालाई कर्मभूमि बनाएका प्याकुरेल हाल आएर नेपाली साहित्यमा पूर्णकालीन लेखकको रुपमा साधनारत छन् । मूलतः आख्यानमा कलम चलाउने प्याकुरेलको पहिलो उपन्यास नै ‘उबर’ हो । यसमा प्रयुक्त रोचक एवं मार्मिक कथा र कलात्मक भाषा–शैलीका कारण हरेक पाठकका लागि रुचिकर बनेको प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले बताए ।

उपन्यासमा रहर वा बाध्यतावश विदेशिने नेपालीको मनोविज्ञान सशक्त भएर आएको छ । विदेशी भूमिबाट देखिने नेपाल, नेपालीपन र त्यहाँको भोगाइलाई नजिकबाट छोएर उपन्यासको कथावस्तु बुनिएको छ । एक नेपाली कसरी विदेश पुग्छ र कसरी त्यहीँ बस्न बाध्य हुन्छ, अनि उसमा डायस्पोरिक भावना ओतप्रोत भएर आउँछ भन्ने कुरा उपन्यासले पस्केको छ ।

अमेरिकी भूमिबाट लेखिए पनि उपन्यासको मुख्य परिवेशमा नेपाल र नेपाली समाज नै हो । नेपालको शहरीदेखि ग्रामीण परिवेश हुँदै अमेरिकाको ज्याक्सन हाइटसम्म तन्किएको छ ।

विगतमा नेपाली समाजले भोगेको सशस्त्र द्वन्द्व र त्यसले निम्त्याएको परिणतिलाई यसले पक्रन खोजेको छ । मूलतः उपन्यासमा एक सैनिक अधिकृतको मनोदशा राम्रोसँग उजागर भएको सम्पादन हाउसका दीपक नेपालले बताए । उनका अनुसार विद्रोहीसँगको मोर्चामा विजय हासिल गरेर पदोन्नति हुने एक सैनिक अधिकृत मुलुकमा शान्ति सम्झौतापश्चात भने आफ्नै मनोद्वन्द्वले पिल्सिन पुग्छ । अन्ततः ऊ देश छोड्न बाध्य हुन्छ र अमेरिकी भूमितिर पलायन हुन्छ । स्वदेशमा शानदार कर्णेल पदको फूली भिर्ने उक्त पात्र अमेरिकी भूमिमा भने उबर (एक प्रकारको ट्याक्सी सेवा) ड्राइभर बनेर दैनिकी चलाउन थाल्छ । तर, समय बित्दै जाँदा उसलाई स्वदेशको यादले लखेट्दै जान्छ र जतिसुकै भौतिक सम्पन्नताका बीच जीवन बिताए पनि मनमा भने शान्ति हुँदैन । यही डायस्पोरिक भाव नै उपन्यासको सशक्त पक्ष हो ।

द्वन्द्वकालमा भएको नेपाली सेना र विद्रोही माओवादी लडाकुका बीचको दोहोरो भिडन्त मात्र हैन, सामाजिक भिडन्तलाई पनि उपन्यासले यथार्थवादी कोणबाट प्रस्तुत गरेको छ ।

आफ्नो देश छाडेर सपनाको देश अमेरिका पुगेपछि हरेकपल नेपाल सम्झने तर विविध कारणवश पुनः नेपाल फर्कन नसक्ने मार्मिक कथावस्तु उबर उपन्यासले समेटेको छ । नेपाल फर्किने र अमेरिकामै रहने भन्ने पारिवारिक द्वन्द्वका उपन्यास गतिशील बनेको छ । देशको न्यास्रो मेट्न अमेरिकामा रहेका नेपालीहरुले ज्याक्सन हाइट (र, नेपाली भान्छाघर) लाई नै नेपाली समाजको प्रतिनिधि परिवेश बनाइएको छ ।

उपन्यास सम्पादन हाउसको सहकार्यमा काठमाडौँबाट शिखा बुक्सले प्रकाशित गरेको हो । ज्ञानज्योति पब्लिकेशन मुख्य वितरक रहेको यस कृतिको मूल्य रु २७५ रहेको छ ।