नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य कीर्तिशेष श्यामदास वैष्णवप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्नुका साथै कीर्तिशेष वैष्णवका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । स्रष्टा वैष्णव कीर्तिशेष हुनुभएको १० औँ दिनका दिन वैष्णव निवास ज्ञानेश्वर पुगी कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट श्रद्धाञ्जलि एवम् समवेदना व्यक्त गर्नुभएको हो ।
कुलपतिले नेपाली साहित्यको उन्नयनमा कीर्तिशेष वैष्णवले दिनुभएको विशिष्ट योगदानको स्मरण गर्दै उहाँको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको बताउनुभयो । कुलपतिले समवेदना–पत्र वैष्णवकी धर्मपत्नी जगत्कुमारी वैष्णवलाई हस्तान्तरण गर्नुभएको थियो ।
समवेदना–पत्र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले वाचन गर्नुभएको थियो । सो अवसरमा कुलपतिले कीर्तिशेष वैष्णवको काजकिरिया खर्च बापत रु. ५० हजारको चेकसमेत हस्तान्तरण गर्नुभएको थियो ।
श्रीमती जगत्कुमारीका पति, छोराहरू प्रदीप वैष्णव, प्रकाश वैष्णव र प्रवीण वैष्णव एवम् छोरीहरू रमा बानिया, सुमित्रा वैष्णव, इन्दु वैष्णव र रचिता बस्नेतका पिता एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य, तात्कालिक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका सहसदस्य अनि नेपाली साहित्यका विशिष्ट साधक श्यामदास वैष्णवको यही २०७८ वैशाख ३ गते शुक्रवारका दिन साँझ ७ः०५ बजे ९७ वर्षका उमेरमा निधन भएकोमा नेपाल प्रज्ञा–प्रतिष्ठानले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको हो ।
वि.सं. १९८१ श्रावण कृष्ण सप्तमीका दिन काठमाडौँको लाजिम्पाटमा माता दुर्गाकुमारी र पिता कृष्णदास वैष्णवका पुत्ररत्नका रूपमा जन्मनुभएका श्यामदास वैष्णव स्वयम् एक सशक्त कवि र महाकवि लक्ष्मीप्रसाद देवकोटाका लेखन सहयोगीका रूपमा समेत सुप्रतिष्ठित हुनुहुन्छ । वि.सं. २००१ को ‘शारदा’ पत्रिकामा ‘सूर्य’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्ययात्रा प्रारम्भ गर्नुभएका वैष्णवको रातको आँसु (गीतिकवितासङ्ग्रह), पतकर (कवितासङ्ग्रह), अन्तध्र्वनि (कवितासङ्ग्रह), उपहार (कवितासङ्ग्रह), नयाँ लहर (कवितासङ्ग्रह), केही लघु नाटक, दृश्य–सौगात (नाटकसङ्ग्रह), शैक्षिक–नाटक (नाटकसङ्ग्रह, २०६३), श्यामदास वैष्णवका बालकथाहरू (बालकथासङ्ग्रह, २०६८), केही गीति नाटक जस्ता दर्जनौँ कृतिहरू कालजयी रचनाका रूपमा रहेका छन् ।
उहाँले विभिन्न नाटकहरूको निर्देशन, थुप्रै सङ्ख्यामा गीतहरूको रचना र ध्वनिकोशका माध्यमबाट प्रसारण तथा अनेकौँ टेलिचलचित्रमा प्रमुख भूमिकासहित सशक्त अभिनय गरेर समेत विशिष्ट योगदान गर्नुभएको छ । उहाँका कृतिहरूमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, आत्मगौरव, स्वाभिमान र विश्वमानवताको सन्देश पाइन्छ ।
आजीवन नेपाली माटो, नेपाली मुटु र नेपालीपनका चिन्तक कवि वैष्णवको निधनबाट नेपाली साहित्यका क्षेत्रमा अपूरणीय क्षति भएको छ र नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्ना भरपर्दा एक जना अभिभावक गुमाएको छ ।
नेपाली नाट्यक्षेत्रका धरोहर कीर्तिशेष वैष्णवको निधनको दुःखद घडीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कीर्तिशेष कविवर श्यामदास वैष्णवप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पतिवियोगमा रहनुभएकी जगत्कुमारी वैष्णव र पितृवियोगमा रहनुभएका छोरा–छोरीलगायत शोकसन्तप्त समस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको समवेदना–पत्रमा कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ र सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको हस्ताक्षर रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।