नेपाल स्रष्टा समाजको आयोजनामा वैशाख ९ गते स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २०७८ सालको दमन्ता खनाल नारी स्रष्टा सम्मान प्रतिमा पोख्रेललाई गरिएको हो । कार्यक्रम पहिले नै तय भएका कारण कोभिडको समयमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गर्दै कार्यक्रम आयोजना गरिएको हो ।

समाजले गत पुस १४ गते गठन गरेको तीन सदस्यीय ‘दमन्ता खनाल स्रष्टा सम्मान २०७८ सिफारिस समिति’को सिफारिसका आधारमा साहित्यकार एवम् सामाजिक अभियन्ता प्रतिमा पोख्रेललाई सो सम्मान प्रदान गरेको हो । २०७५ सालमा स्थापित सम्मानपत्रसहित एघार हजार एक सय एघार रुपैयाँ राशिको सो सम्मान हरेक वर्ष दमन्ता खनालको जन्मजयन्तीका दिन प्रदान गर्ने गरिन्छ ।

भोजपुरको अरुण गाउँपालिकाकी पोख्रेल साहित्य तथा समाजसेवामा सक्रिय हुनुहुन्छ । शिक्षण पेशामा संलग्न उहाँले विगत केही वर्षदेखि विपन्न तथा असहाय बालबालिकाको शिक्षामा विभिन्न प्रकारले योगदान गर्दे आउनुभएको छ ।
सोही कार्यक्रममा पुष्पा खनालको गीतसङ्ग्रह ‘गह पोखिएर’को दोस्रो संस्करण र खनालकै गीतहरूको समेत लोकार्पण गरियो ।
समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार रमा शर्माको प्रमुख अतिथित्वमा सम्पन्न सो कार्यक्रममा समाजका उपाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सम्मानित स्रष्टा प्रतिमा पोख्रेलको संक्षिप्त परिचय समाजका कोषाध्यक्ष नवराज ‘अवदोषी’ले गराउनुभएको थियो ।
जानु धितालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विभिन्न स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

समाजले दमन्ता खनाल नारी स्रष्टासम्मान, योगमाया राष्ट्रिय नारी स्रष्टासम्मान, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान, सुभद्राविश्वराज स्रष्टासम्मान, प्रशिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टासम्मान तथा रमेशगङ्गा स्रष्टासम्मान समेतका ६ वटा सम्मान प्रदान गर्दै आएको छ ।