नेपाल प्रज्ञा–प्रतिष्ठान र नौलो साहित्यिक बिहान समाज, नेपालको संयुक्त आयोजनामा पाँचथरको फिदिममा दुई दिने पाँचथर वाङ्मय सङ्गोष्ठी–२०७८ भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त सङ्गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अहिले नेपाल प्रज्ञा–प्रतिष्ठान देशको सिङ्गो परिचयात्मक ग्रन्थ ‘नेपाल दर्पण’को लेखन, महाकवि देवकोटा सङ्ग्रहालय निर्माण जस्ता गौरवशाली कार्य सम्पन्न गर्न लागिरहेको छ ।

साथै नेपालमा उत्पत्ति भएका र आजसम्म पनि भारतीय दर्शन भनेर विश्वले पढाइरहेका पचासभन्दा बढी दर्शनहरूलाई समेटेर प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली दर्शन’ नामक ग्रन्थ तयार गरी प्रकाशन गर्न लागेको हुनाले पाँचथर जस्तो किरात बाहुल्य सामाजिक संरचना भएको जिल्लामा यस प्रकारको गोष्ठीको आयोजनाले विशेष महत्त्व राख्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, अहिले हामी ‘नेपाली दर्शन’को खोजीमा छौँ, ‘नेपाली कविताको प्रादेशिक इतिहास’ लेखाउँदै छौँ र ‘लोकवार्ताकोश’ निर्माण गर्दै छौँ । यी कार्यहरू सम्पन्न गर्नका लागि हामीलाई हरेक विषयका लागि आधिकारिक र प्रामाणिक आधार चाहिएको छ त्यसैले मुन्धुम दर्शन वा किरात जीवनदर्शनको खोजीका लागि एक नम्बर प्रदेशका पूर्वी जिल्लाहरू नै हाम्रा लागि आधिकारिक र प्रामाणिक आधार हुने, कविता र लोकवार्ताका लागि पनि यहाँबाट महत्त्वपूर्ण सामग्रीहरू प्राप्त हुने विश्वास हामीले लिएका छौँ ।

पाँचथर वाङ्मय सङ्गोष्ठी सम्पन्न पाँचथर वाङ्मय सङ्गोष्ठी सम्पन्न कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले हाम्रा अपार बौद्धिक सम्पत्तिहरू नेपालका गाउँ गाउँमा रहेका हुनाले तिनलाई खोजी गरी प्रकाशनमा ल्याउनुपर्ने जिम्मेवारी बोध गरी प्रज्ञा–प्रतिष्ठान स्थानीय तह तथा वाङ्मयसेवी सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै हाम्रा साहित्यिक तथा सांस्कृतिक गौरवहरूको खोजीमा लागेको जानकारी दिनुभयो ।

अर्का प्राज्ञ परिषद् सदस्य तथा साहित्य (बालसाहित्य र लोकवार्ता) विभागका प्रमुख डा. देवी नेपालले हाम्रा प्रत्येक माटो, ढुङ्गा, वनस्पति र जीवनपद्धतिसँग जाडिएका अनैकौँ लोकसम्पत्तिहरूको खोजी गरी सङ्ग्रह गर्न सक्ने हो भने तिनले हामीलाई हजारौँ वर्षसम्म बचाउने र भावी पुस्ताका लागि ती सामग्रीहरू पुर्खाले छाडेर गएका अमूल्य सम्पत्ति हुने हुनाले अहिले प्रज्ञा–प्रतिष्ठानबाट ‘लोकवार्ताकोश’ र ‘सृष्टिका कथा’ लेखन र प्रकाशनको काम हुँदै गरेको कुराको जानकारी दिनुभयो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले अहिलेको प्रज्ञा–प्रतिष्ठानको सक्रियता, थालनी भएका योजनाहरू र सम्पन्न भएका कामहरू देखेर सम्पूर्ण वाङ्मयप्रेमीहरू उत्साहित भएको विचार व्यक्त गर्नुभयो । पाँचथर जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले हाम्रो क्षेत्रमा रहेको राष्ट्रको बौद्धिक सम्पत्तिको खोजी गर्न प्रज्ञा–प्रतिष्ठान यहीँ आइपुग्नु पाँचथरवासीका लागि गौरवको विषय भएको विचार व्यक्त गर्नुभयो भने फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले यस क्षेत्रको साहित्यिक तथा सांस्कृतिक अन्वेषण, संरक्षण र संवद्र्धनका लागि नगरपालिका जहिल्यै सहयोगी रहने विचार व्यक्त गर्नुभयो ।

नौलो साहित्यिक बिहान समाज, नेपालका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता र सचिव प्रेम ओझाको सञ्चालनमा सम्पन्न उक्त गोष्ठीमा पूर्वमन्त्री श्रीप्रसाद जवेगु, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय नन्दु उप्रेती र सुभद्रा भट्टराई, प्राज्ञ सभाका पूर्व सदस्य रविमान लमजेल, याक्थुम प्रज्ञा–प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु, पाँचथर जिल्लाका पूर्व जिविस उपसभापति दीननाथ घिमिरे, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरूलगायत पाँचथर, इलाम र ताप्लेजुङका विशिष्ट साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

स्रष्टा शान्ता गौतमको स्वागत मन्तव्यपछि उहाँकै नेतृत्वमा पूर्वको मौलिक लोकसम्पत्तिका रूपमा परिचित सँगिनीको प्रस्तुतिबाट सुरु भएको उक्त सङ्गोष्ठी कार्यपत्र प्रस्तुतिसहितको गोष्ठी, पुस्तक विमोचन, स्रष्टा सम्मान, कविता वाचन र बालकविता लेखन कार्यशाला गरी पाँच चरणमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको गोष्ठी सत्रमा लक्षिमा सेर्मा पापोले ‘किरात जीवनदर्शन’, सरस्वती दुमी राईले ‘नेपाली कवितामा पाँचथर जिल्लाको योगदान’ र मधुराज केरुङले ‘लिम्बू लोकपद्यमा केसामको अध्ययन’ विषयक कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो भने ती कार्यपत्रहरूमाथि क्रमशः डिकध्वज लावती र लालअन्जान सम्बाहाम्फेले टिप्पणी गर्नुभएको थियो ।

यस अवसरमा सन्देश सुब्बाद्वारा लिखित ‘सम्झनाको आँधी’, डी.एम. कन्दङबाद्वारा लिखित ‘प्रेम यसरी टुक्रिन्छ’, मोलिसा याक्थुम्बाद्वारा लिखित ‘केयुक्ना नु आयुक्ना’लगायत पाँचओटा कृतिहरू विमोचन गरिएका थिए भने स्रष्टा मिना राई र मोलिसा याक्थुम्बालाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो ।

यसै अवसरमा आयोजित विशेष कविगोष्ठीमा प्राज्ञद्वय नन्दु उप्रेती र सुभद्रा भट्टराई, दीननाथ घिमिरे, मधु केरुङ, रामप्रसाद समथिङ, लाजिमा नेम्बाङ, एसी मेन्जो, धनपति ढुङ्गेल, राजकुमार इसारा, मीन अकेला, रविन कोक्र्याली तिम्सिना, सायालु नामसाङ, पदम सुखी साम्बाहाम्फे, खड्ग बोहोरा, गायत्रीप्रसाद रिजाललगायत दुई दर्जन कविहरूले कविता वाचन गर्नुभएको थियो ।

वाङ्मय सङ्गोष्ठीको अन्त्यमा आयोजित बालकविता लेखन कार्यशालामा प्राज्ञ डा. देवी नेपालले पाँचथर जिल्लाका विभिन्न बालबालिका तथा साहित्यकारहरूका बिचमा बालकविता लेखनसम्बन्धी कार्यशाला सञ्चालन गर्नुभएको थियो । यस अवसरमा उहाँले बालकविताका लागि आवश्यक विविध लयहरूका बारेमा जानकारी प्रस्तुत गरी बालोरी, केसाम, सवाई र झ्याउरे छन्दमा कविता लेखनसम्बन्धी प्रयोगात्मक कार्यशाला सञ्चालन गर्नुभएको थियो ।

प्रस्तुत सङ्गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका दर्शनशास्त्र, साहित्य (पद्य÷काव्य) र साहित्य (बालसाहित्य र लोकवार्ता) तीनओटा विभाग र तिनका विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो भने स्थानीय व्यवस्थापन पाँचथरको फिदिममा रहेको नौलो साहित्यिक बिहान समाज, नेपालले गरेको थियो ।