प्रमोद सारंगद्वारा लिखित नवीनतम् कवितासङ्ग्रह अजय त्रिप्ति हिजो एक समारोहबीच लोकार्पण भयो। सो कृति जुमको भर्चुअल माध्यमबाट विमोचन भएको हो।

अनेसास कोरिया च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा अनेसास बिओटी उपाध्यक्ष पदम विश्वकर्मा , अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, अनेसास एसिया क्षेत्रीय उपाध्यक्ष बाबा बस्नेत, एनआरएनए आईसीसी भाषासाहित्य समितिका उपाध्यक्ष साहित्यकार महेश्वर पन्त, साहित्यकारहरू क्रमश: लालगोपाल सुवेदी, राधिका गुरागाईं र श्रीबाबु कार्की उदासले कृतिकारलाई बधाई र शुभकामना व्यक्त गर्दै नेपाली कविताकाशमा अजयतृप्ति संभावना बोकेको कृति रहेको जनाएका थिए।

विशेष अतिथि /वक्ता प्रखर कवि एवम् समालोचक महेश पौड्याल र भीष्म उप्रेतीले कविको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उक्त कृतिमा संगीतको अभिव्यञ्जनामा कविताको अन्तर्ध्वनि रहेको साथै साङ्गीतिकता र सूक्ष्मताका अतिरिक्त कवि सारंगको कविताहरूमा विषयवस्तु , भाव , भाषाशैली, बिम्ब र प्रतीकहरूको पनि सुन्दर समायोजन रहेको जनाए ।

सङ्ग्रहमा १११ वटा कविताहरू सङ्ग्रहित छन्। लामो समय कोरियामा बसेर भाषासाहित्यमा अनवरत साधनारत सारंगले आफ्ना नयाँ र पुराना सूक्ष्म कविताहरू समेटेर पुस्ताकार दिएका हुन्। कार्यक्रममा विशिष्ट अतिथिहरूले सङ्ग्रहबाट केही सुन्दर कविताहरू वाचन गरेका थिए। कवि सारंगले आफ्ना केही सुन्दर कविताहरू वाचन गर्दै अतिथि स्रष्टाहरूलगायत सम्बन्धित सबैप्रति हार्दिक आभार प्रकट गरेका थिए।

अनेसास कोरियाका उपाध्यक्ष आर. एन. अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अनेसास कोरियाका सल्लाहकार विनोद परिवर्तितले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ उपाध्यक्ष डी.आर. न्यौपाने ‘सूर्य’ले उदघोषण गरेका थिए ।