खगेन्द्र संग्रौला

साहित्यकार तथा विचारक खगेन्द्र संग्रौला ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्रसहित ‘पहिचान सम्मान’बाट सम्मानित भएका छन् । पहिचान पुरस्कार कोषले सम्मान प्रदान गरेको हो ।

लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले संग्रौलाई सम्मान गरिएको कोषले जनाएको छ ।

लेखक तथा अनुवादक संग्रौलालाई उक्त सम्मान एक कार्यक्रमका बीच प्रदान गरिएको हो । नरेश काङमाङ, रामकुमारी झाँक्री, अजम्बर काङमाङले संग्रौलालाई पहिचान सम्मान प्रदान गरे । कार्यक्रममा वैरागी काइला भर्चुअलरूपमा अडियो सम्बोधन गर्दै संग्रौलाका बारेमा बोलेका थिए ।

२०७२ सालमा बेलायतमा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत् पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने लेखकलाई बर्सेनी पुरस्कृत गर्दैआएको छ।

साहित्य र पहिचानको क्षेत्रमा क्रियाशीलहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित यो संस्थाले चार वर्ष पहिचान पुरस्कार र पाँचौँ वर्ष सम्मान अर्पण गरिने जनाएको छ । यसअघि चारवटा पुस्तकका लेखकहरूलाई कोषले पुरस्कृत गरिसकेको छ । पाँचाैँ वर्षमा संग्रौलालाई भने सम्मान प्रदान गरिएको हो ।