तीन दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारिता, पुस्तक तथा पत्रिका सम्पादनमा सक्रिय लेखक आर.पी. भट्टराईको पहिलो साहित्यिक कृतिका रुपमा नियात्रा संग्रह ‘मेरो लस एन्जलस यात्रा’ प्रकाशित भएको छ ।

अमेरिकाको लस एन्जलस, लस भेगास, यूसीएलए र अन्य सहरमा झण्डै १ वर्षसम्म बस्दाको अनुभव तथा विभिन्न चाखलाग्दा घटनाहरू समेटिएको यो कृति एकैसाथ अंग्रेजी अनुवाद ‘माइ जर्नी टु लस एन्जेलस’ पनि सार्वजनिक भएको छ । यसको अंग्रेजी अनुवाद डा. शिवराज भट्टराईले गरेका हुन् ।

पत्रकार आरपी भट्टराई आफ्ना छोरी–ज्वाई भेट्ने कारण र श्रीमतीको उपचारमा जानैपर्ने अवस्थाका कारण दुईपटक अमेरिकाको क्यालिफोर्निया गएका रहेछन् । त्यही भ्रमणको सिलसिलमा अमेरिका यात्रामा देखेका, भोगेका अनेकौं घतलाग्दा घटना, परिस्थिति, व्यक्ति र प्रचलनलाई लेखकले विभिन्न शीर्षकहरूमा प्रस्तुत गरेका छन् ।

नेपालका अनेकौँ प्रचलन र घटनाहरूसँग तुलना समेत गर्दै लेखकले रोचक शैलीमा यात्रा संस्मरणहरू प्रस्तुत गरेका छन् । त्यहाँका अस्पतालहरूको व्यवस्थापनको चुस्तता, स्कूल बसहरूलाई दिइने प्राथमिकता, वैवाहिक जीवनमा देखिएका सम्बन्ध विच्छेद, सौतेनी बाबुको प्रचलन जस्ता अनेक प्रचलनहरू जो हाम्रो समाजमा अनौठो मानिन्छ । त्यस्ता दर्जनौँ रोचक विषयहरू यस पुस्तकमा समेटिएको छ ।

मन्जरी प्रकाशन गृहले प्रकाशित गरेको १२० पृष्ठको कृति ‘मेरो लस एन्जलस यात्रा’ को मूल्य रु २०० रहेको छ ।