साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

जन्मको सार्थकता खोज्न शुभजन्मोत्सव

नयाँ वर्षको छेको पारेर नेपालमा प्रत्येक नेपालीले आफू जन्मको अर्थ र सार्थकता खोज्नु पर्ने भन्दै शुभजन्मोत्वस नेपाल जन्मिएको छ ।

साहित्यकार शीतल कादम्बिनी र बाबु त्रिपाठीले एक समारोहका बीच नयाँ बानेश्वर थापागाउँमा रहेको लेखनकुन्जमा शुभजन्मोत्सव नेपाल लेखिएको केक काटी संस्थाको शुभारम्भ गर्नुभएको हो ।

वैशाख १ मै जन्मने मान्छेको तर्फबाट बोल्दै लेखनकुन्ज नेपालका अध्यक्ष कमल ढकालले भन्नुभयो, “मसँगै आज कति साथीहरु जन्मे होलान् ? तर आफ्नो जीवनको बारेमा अरुले पनि झकझकाएर ‘तिमी यो पृथ्वीमा जन्मेको कारण खोज ?’ भन्नु अध्यात्मिक र नैतिक पाटोबाट मानिसलाई सकरात्मकतातिर लैजानु हो । यस्तो कार्यक्रको सफलताको कामना गर्दछु ।”

कार्यक्रममा गीतकार तथा गजल अभियन्ता शीतल कादम्बिनीले आफू डबल खुसी भएको बताउँदै भन्नुभयो, “एक त आफैँले नयाँ संस्थाको केक काटन पाइयो र जन्मदिन भएकालाई खुसी दिन पाइयो । संस्थाले चालेको सुकर्मको लागि शुभकामना छ ।”

कार्यक्रममा गजलकार बाबु त्रिपाठीले जन्मदिन पर्ने ७८ जनालाई शुभकामना दिँदै शुभजन्मोत्सव नेपालले नेपालमा गजबकै कन्सेप्ट राखेकोले आफ्नो माघ २३ मा पर्ने जन्मदिन आजै बुक गरिदिई मनाउन र त्यसबापत आफूले स्वतःस्फुर्त दिएको रकमबाट नेपालमा रहेको बोक्सी, दाइजोजस्ता कुरीति र कुप्रथा हटाउन संस्थाले कदम चाल्नेप्रति सह्राना व्यक्त गर्दै भन्नुभयो, “पार्टी गरेर पैसा सक्नेभन्दा पनि एकै जनालाई पनि आफ्नो जन्मदिनको अवसरमा केही गर्न सकियो भने एक एक जना गरेर उठ्ने देश हो । हाम्रो देश राम्रो हुनेछ ।”

पत्रकार चन्द्र बानियाँले मान्छेहरुले जन्मदिनमा पार्टी गरेर लाखौँ सक्नेभन्दा समाजमा त्यही पैसाले केही काम नयाँ गर्नुपर्दछ भनेर सिकाउने र मानवले मानव जातिलाई सुखी र खुसी बनाउनु पर्दछ भन्ने उद्देश्य मानवभित्रै भए पनि त्यसलाई प्रकाश पार्ने संस्था जन्मिएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिनुभयो ।

संस्थाका अध्यक्ष मृत्युन्जय झाले हरेक दिन र हरेक समय मान्छेहरु जन्मिरहेको र मान्छेहरुले आफ्नो जन्मको सार्थकता नखोजेकोले यो पृथ्वी ध्वस्त बन्दै गएको प्रति चिन्तित भई मानव जीवन र प्राकृतिक जीवनलाई खुसी बनाउन शुभजन्मोत्सव नेपाल जन्मिएको बताउनु भयाे । उहाँले भन्नुभयाे, “जनवरी १ नरोजी वैशाख १ नै रोज्नु भनेको यो नेपाली मौलिकताको परिचय हो ।”

संस्थाको सञ्चालक अर्पणा केसीले शुभजन्मोत्सव नेपालले सम्पूर्ण नेपालीको जन्मको सार्थकता खोज्ने बताउदै भन्नुभयो, “हामी हरेक नेपालीको जन्मदिन मनाउन चाहन्छौँ । जन्म किन भयो र केका लागि भयो ? भन्ने परिचयसहितको प्रोग्राम गर्नेछौँ ।”

संस्थाले २०७८ साल वैशाख १ गते जन्मने ७८ जनालाई संयुक्त राखेर केक काट्ने भने पनि कोरनाको सङ्क्रमित बढ्दै गएको र सरकारले २५ जनाभन्दा बढी नराख्न गरेको अनुरोध मान्दै लेखनकुन्जका अध्यक्ष कमल ढकाल र प्राज्ञ एवम् साहित्यकार शशी लुलुम्बुको केक काटेर जन्मदिन मनाएको थियो ।

संस्थाले गणतन्त्रको जन्मदिन मानेर आगामी जेठ १५ गते भव्य कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा कवि, कलाकार, पत्रकार, लेखक तथा फिल्मकर्मीहरुको उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया
Loading...