साहित्यकारहरूले सधैं नौला नौला सिर्जनामा लागिरहनु पर्ने हुनाले तिनले आफ्ना मन मस्तिष्कलाई तरोताजा राखिरहनु जरुरी छ। यो भनाइ हो अभिव्यक्तिका प्रधान सम्पादक वरिष्ठ साहित्य पत्रकार नगेन्द्रराज शर्माको। उहाँ चैत २८ गते धुलिखेलस्थित सारथि होटेलमा नेपाल स्रष्टा समाजको आयोजनामा भएको “साहित्यिक बनभोज”मा बोल्दै हुनुहुन्थ्यो।
अर्का स्रष्टा पुष्पप्रसाद लुइँटेलले आफू २०३७ सालको जनमत सङ्ग्रहमा काभ्रेमा प्रमुख जिल्ला अधिकारी भएको स्मरणसमेत गर्दै हिन्दीमा केही स्वरचित शायरी र कविता सुनाउनु भयो।
सर्जकहरू नरेन्द्रबहादुर श्रेष्ठ, पवन आलोक, वियोगी बुढाथोकी, विधान आचार्य, स्नेह सायमि, इल्या भट्टराई, देविका तिमिल्सिना, विष्णुबहादुर सिंह, विजयध्वज थापा, श्रीओम श्रेष्ठ रोदन, शङ्कर भारती, रमेशजङ्ग थापा, प्रकाश घायल, डा. सदानन्द कँडेल, मधु पाठक, पुष्पा खनाल, जानु धिताल, लेखजङ्ग खत्री, हरीश कल्पित, डा. शान्तिमाया गिरी, रञ्जना निरौला, सुमन घिमिरे वर्षा, दुर्गा किरण तिवारी, रश्मि रिमाल, सुस्मिरा अर्याल, प्रकाश तिवारी, अर्जुन थापा र सुषमा अंशुले भिन्नभिन्न विधाका तर रोमान्टिक धारका कविता गीत, गज़ल आदि सुनाए। कसैले आफ्नै रचना गाए, कसैले अर्काका।
झन्डै दुई घण्टासम्म लगातार विभिन्न सङ्गीतमा चलेको सर्जकहरूको नृत्य मनमोहक देखिन्थ्यो। जीवनको नवौँ दशकमा रम्दै गरेका साहित्यकारदेखि युवा पुस्ताका नवोदित साहित्यकारसम्मले नाच गान, रचना वाचन तथा अनुभवका आदान प्रदानमा भाग लिएको सो कार्यक्रम अनुभव, सिर्जनाका गुण तथा प्रस्तुतिका सीपले भने स्तरीय देखिन्थ्यो। सोही अवसरमा म्यान्मा (बर्मा) बाट प्रकाशित, साहित्यकार श्री मोहनराज खनालको कृति हृदयको झङ्कार समेत वरिष्ठ व्यक्तित्व नगेन्द्रराज शर्माले लोकार्पण गर्नुभयो ।
परिचयात्मक कार्यक्रमबाट सुरु भएको सो एकदिने साहित्यिक पुनर्ताजगीमा बिहानको खाजापछि सर्जकहरू हजार सिंढी चढेर बिशाल बुद्ध प्रतिमाको समीप पुगे। अनि धुलिखेलमा रहेको आकाशतिर चुच्चो परेर छड्के उभिएको ढुङ्गामा पुगी तस्वीर खिच्नसमेत भ्याए। त्यसपछिको रचना वाचनमा भने समसामयिक तर मनोरन्जनात्मक शैलीले भरिएका अधिकांश प्रस्तुति शृङ्गारिक थिए। कार्यक्रममा “वाह, वाह” वा हाँसोको रमाइलो अन्तसम्म नै गुञ्जायमान थियो।
यस कार्यक्रमलाई सफल पार्नमा यातायातको व्यवस्था निम्ति सहयोग गर्ने बानेश्वर शङ्खमूल क्षेत्रको शङ्खविनायक मार्गस्थित ज्ञाननिकेतन स्कुल / कलेज का सञ्चालक लीला केसीलाई र आनन्ददायी आतिथ्य दिएकोमा होटेल सारथिलाई नेपाल स्रष्टा समाजका तर्फबाट कार्यक्रम संयोजक जानु धितालले धन्यवाद दिनुभयो। बिहान ७ बजे भृकुटीमण्डपबाट सुरु भएको साहित्यिक पुनर्ताजगी साँझ ७ बजे भृकुटीमण्डपमै पुगेर टुङ्गिएको थियो । तर मनमा झङ्कृत उत्प्रेरणा भने जीवनपर्यन्त रहिरहने विचार एक युवा तथा त्यसै दिन संस्थाको सदस्यता लिएकी साहित्यकारले बताइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।