सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नयाँगाउँस्थित कर्णाली थारू होमस्टेमा पाँचौँ राष्ट्रिय थारू साहित्य सम्मेलन सम्पन्न भएको छ ।

चैत २१ र २२ मा दुई दिनसम्म चलेको सो सम्मेलनको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा सुवेदीले थारू भाषा साहित्य समृद्ध रहेको र सुर्खेतमा थारू भाषा संरक्षण गर्न स्थानीय पाठ्यक्रममा थारू विषयबस्तु राखिने बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीले थारू समुदायले यसखाले साहित्य सम्मेलन गरेर थारू साहित्यको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष विभिन्न समुदायको मातृभाषा अन्तर्गतको पुरस्कार दिने गरेकोमा आगामी दिनमा थारू समुदायले पनि लिन सकोस् भन्ने शुभकामना दिनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं सुर्खेत शिक्षा क्याम्पसका उपप्रध्यापक डा. महेन्द्र कुमार मल्लले साहित्य समाजको सर्वोत्तम शक्ति भएकोले साहित्यले समाजको संस्कृतिको उजागर गर्ने भएकाले यसको लागि स्वयम् थारू साहित्यको विकास समृद्धिका लागि यो सम्मेलन महत्त्वपूर्ण रहेको बताउनुभयो ।

विभिन्न जिल्लाबाट आएका थारू साहित्यकारको जमघटले सुर्खेतलाई एउटा ऊर्जाशील सन्देश दिने बताउनुभयो ।

विभिन्न विषयमा प्यानल छलफल
कार्यक्रममा आख्यानकारद्वय महेशविक्रम शाह र नयनराज पाण्डेसँग अर्का आख्यानकार शेखर दहितले आख्यानको ओज शीर्षकमा छलफल चलाउनुभयो ।

सो क्रममा महेशले लामो समय आफ्नो बसाई कैलाली, टीकापुर छेउको थारू गाउँमा भएकाले कथामा थारू पात्र जीवन्त भएर आएको बताए । नयनले आफ्नो आख्यानमा मधेशी पात्र बढी आउनुमा ती पात्रहरूसंगको संगत नै कारक रहेको बताए ।

महेशले सबै कुरा एउटै लेखकले लेख्नैपर्छ भन्ने नभएको बताउँदै लेखकको भिन्नाभिन्नै स्वाद पस्काइ नै तिनको विशेषता भएको विचार राखे ।

टीकापुर घटनामा कतिपय निर्दोष थारू फँसेका तर तिनको बारे कुनै आख्यान नआएको प्रसंग उठ्दा महेशले त्यसबारे आख्यान लेख्ने बताए ।

नयनले आफूले कथाको अन्त्यमा कहिल्यै निर्णय नसुनाउने बताउँदै त्यो पाठककै जिम्मामा छोड्नुपर्ने बताए । उहाँले भन्नुभयो, ‘थारू समुदायको लेखनको विषयबस्तु तपाईंहरू भित्रै छ, कस्तुरी तपाईंहरू भित्रै छ । यसको सुगन्ध थाहा पाउनोस् ।’

प्यानलिष्टका रुपमा छलफल गरी थारू साहित्यकार र गैरथारू साहित्यकारबिच अनुभव आदान प्रदानबाट लेखकहरूमा थप ऊर्जा प्राप्त भएको कुरा सम्मेलनका संयोजक मानबहादुर पन्नाले बताए ।

थारू गीतको बाटो कता शीर्षकमा सुशील चौधरी, राज कुश्मी र सानु चौधरीसंग अनिल कुश्मीले संवाद चलाउनुभएको थियो ।

सो अवसरमा थारू लोकलय हराउँदै गएकाले थारू गायकहरूले आधुनिक गीतसंगै लोकगीतको संरक्षणमा ध्यान दिनुपर्ने निचोड रहेको थियो ।

थारू पहिचानको अवस्था बारेमा थारू कल्याणकारिणी सभा (थाकस) सुर्खेतका सभापति बेचुलाल चौधरी, सल्लाहकार कृष्णबहादुर चौधरी तथा लेखक मानबहादुर पन्नासंग सोम डेमनडौराले संवाद गर्नुभएको थियो ।

सुर्खेतमा करिब साढे ६ हजार मात्रै थारू समुदायको जनसंख्या भए पनि यहाँको थारू पहिचान जोगाउन भरमग्दुर प्रयास गरेको अतिथि वक्ताहरूले विचार राख्नुभएको थियो ।

थारू भाषाको मानकीकरण विषयमा थारू व्याकरण लेखक भोलाराम चौधरी तथा डा कृष्णराज सर्वहारीले प्रस्तुति दिनुभएको थियो ।

थारू वर्णको पहिचान भइसकेकाले थारू लवजबाट जस्तो उच्चारण हुन्छ, त्यस्तै लेखनशैली अपनाउनुपर्ने दुवैको राय थियो । त्यस्तै, थारू लोकसाहित्यको दस्तावेजीकरण विषयमा थाकस दाङका सभापति भुवन चौधरी तथा थारू भाषाको पहिलो पत्रिका गोचालीका संस्थापक भगवती प्रसाद चौधरीले विचार राख्नुभएको थियो ।

दस्तावेजीकरणको अभावमा तमाम लोकसाहित्य हराउँदै गएकोले यसको संरक्षण हुनुपर्ने आवाज उठेको थियो ।

पुरस्कार तथा सम्मान
उद्घाटन कार्यक्रममा थारू लेखक संघ नेपालले थारू भाषाको ठाँह्रा कथासंग्रहका लागि कथाकार शेखर दहितलाई थारू साहित्य पुरस्कारबाट पुरस्कृत गर्यो । पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । यसैगरी, थारू साहित्यको प्रर्वद्धनमा टेवा दिएको भनेर प्राज्ञ लक्ष्मी मालीलाई अनि सुर्खेतमा थारू समुदायको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै समाजसेवीहरू मानवीर थारू, कृष्णबहादुर थारू, जागुराम थारू र सरिता चौधरीलाई सम्मान गरियो ।

सो अवसरमा आगामी वर्ष प्रदान गर्ने गरी जंग्रार साहित्यिक बखेरी, लेखकद्वय सुशील चौधरी तथा बालिका चौधरीले १/१ लाखको अक्षयकोष स्थापना गरी जनही १०/१० हजार रुपैयाँ पुरस्कारको घोषणा गर्नुभयो ।

थारू लेखक संघ नेपालको आयोजनामा भएको कार्यक्रममा जंग्रार साहित्यिक बखेरी र थारू कल्याणकारिणी सभा, सुर्खेत सहआयोजक रहेका थिए भने नेपाल प्रज्ञा प्रतिष्ठान, एआइपीपी र युनिक नेपालले सहकार्य गरेका थिए । कार्यक्रममा विभिन्न जिल्लाबाट करिब २ सय जना लेखक, साहित्यकार तथा गायकहरूको सहभागिता थियो । थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले लकडाउनको बेला गत वर्ष आयोजना गर्न नसकिएको थारू साहित्य सम्मेलन प्रत्येक वर्ष निरन्तरता दिइने बताउनुभयो ।

घोषणापत्र जारी
पाँचौँ राष्ट्रिय थारू साहित्यिक सम्मेलनका सबै सहभागीहरू प्रतिवद्ध भई १० बुँदे घोषणापत्र जारी गरेका छन् । घोषणापत्र यस्तो रहेको छ ।

१. थारू भाषाको मानकताको लागि सबै भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकवद्ध भएर काम गर्ने ।
२. थारू मातृभाषामा शिक्षाको लागि विद्यमान संवैधानिक र कानुनी प्रावधानको व्यावहारिक कार्यान्वयनको लागि सम्बन्धित निकायलाई दवाव दिने ।
३. थारू लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुका साथै र दस्तावेजीकरणका लागि कार्य गर्ने ।
४. थारू समुदायका विषयवस्तुहरू उठाउनुको साथै आख्यान विधामा स्रष्टाहरूलाई आकर्षित गर्ने खालका कार्यक्रमहरू गर्ने ।
५. थारू भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टाहरूलाई सम्मान र पुरस्कार स्थापना गरि सम्मानित र पुरस्कृत गर्ने ।
६. थारू मौलिक तथा लोकगीत संरक्षणका लागि कार्य गर्ने ।
७. थारू भाषाको विकासका लागि आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने । सिर्जनशील लेखनलाई अघि बढाउने ।
८. भाषा, साहित्य विकासको लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत सरकारी निकायहरूमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि जोड्दार माग गर्ने ।
९. आगामी छैठौं राष्ट्रिय थारू साहित्यिक सम्मेलन कञ्चनपुर जिल्लामा २०७८ चैत महिनामा आयोजना गरिने ।
१०. सुर्खेतमा सम्पन्न पाँचौ राष्ट्रिय थारू साहित्यिक सम्मेलन भव्य, सभ्य एंव सफलतापूर्वक सम्पन्न गर्नमा सहयोग पु¥याउने स्थानीय निकाय, विभिन्न संघ संस्था, मिडिया तथा सञ्चारकर्मी, समाजसेवी, स्थानीयवासी तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तथा विभिन्न जिल्लाबाट सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्ने ।