साहित्यकार रोशन थापा ‘नीरव’ को कथासङ्ग्रह “कोष्ठकभित्रको हाँसो” बजारमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको लोकार्पण समारोहमा डा. धुव्रचन्द्र गौतम, समालोचक महेश पौड्याल र अनुपमा रेग्मीले कथासङ्ग्रह विमोचन गरेका हुन् ।
पुस्तकको समालोचना गर्ने क्रममा अनुपमा रेग्मीले समग्र कथासङ्ग्रहभित्र समकालीन चेतना र उत्तर आधुनिकतावादी कथाहरू भएको बताएकी छन् ।
त्यसैगरी समालोचक महेश पौड्यालले कथासङ्ग्रहभित्रबाट केही संवाद वाचन गरेका थिए । उनले कथासङ्ग्रह नाटकजस्ता र उपन्यासजस्ता रहेको बताएका छन् । शीर्षकसँग कथा नमिल्ने भएकाले हृदयले भन्दा पनि मस्तिष्कले पढ्नु पर्ने बताएका छन् ।
प्रमुख आतिथ्य ग्रहण गरेका डा. धुव्रचन्द्र गौतमले रोशन थापा ‘नीरव’ पछिल्लो समयको प्रयोगवादी लेखकमा आफ्नो दर्जा बनाइसकेको बताएका छन् ।
सात खण्डमा पाँचका दरले रहेका यस कथासङ्ग्रहभित्र जम्मा पैँतीसवटा कथा रहेका छन् ।
शिखा बुक्सले बजारमा ल्याएको यस सङ्ग्रहको मूल्य रू. ४७५ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।