साहित्यकार तथा आर्थिक व्यवस्थापन विज्ञ, नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी दामोदर पुडासैनीले आफ्नो विद्यावारिधि पूरा गरेका छन् । उनको विद्यावारिधिका लागि अध्ययनको विषय “प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन” रहेको थियो ।

पुडासैनीले संस्कृत विश्वविद्यालयबाट आफ्नो विद्यावारिधि पूरा गरेका हुन् ।

“लेखापरीक्षण विषयमा नेपालमा पहिलो विद्यावारिधि सम्पन्न गर्न पाउँदा विशेष खुशी लागेको छ,” पुडासैनीले साहित्यपोस्टसँगको कुराकानीमा बताए, “लेखापरीक्षणको विषयमा हालसम्मै नेपालमा र विदेशमा गएर पनि कुनै नेपालीले गर्नुभएको रहेनछ । तर यो विषयमा विद्यावारिधि हुनु आवश्यक थियो । नेपालमा लेखापरीक्षणका सम्बन्धमा ज्यादै नै थोरै किताब लेखिएका छन्, र ती लेखिएका पनि कर्मकाण्डीजस्ता मात्र छन् ।”

लेखा परीक्षणको विश्वव्यापी महत्त्व तथा यसको बढ्दो आवश्यकतालाई महसुस गर्दै आफूले विद्यावारिधिका लागि यस विषयलाई छनोट गरेको बताउँछन् पुडासैनी । उनले आफ्नो थेसिसमा प्राचीनकाल (रामायण, महाभारत) देखि लिएर भविष्यमा लेखा परीक्षणका लागि अविलम्वन गर्नुपर्ने तत्त्वहरूको बारेमा समेत अध्ययन गरेका छन् ।

थेसिसमा पुडासैनीले लेखा परीक्षणलाई प्रभावकारी बनाउनका लागि विविध सिद्धान्त तथा प्रकारहरूको बारेमा विश्लेषण तथा अध्ययन गरेको बताउँछन् । त्यसमध्ये, लेखा परीक्षणमा नागरिकको सहभागितालाई उनले विशेष जोड दिएका छन् । उनी भन्छन्, “कुनै एक गाउँको परियोजनाको लेखा परीक्षण एउटा लेखा परीक्षकले जिल्ला सदरमुकाममा बसेर गरेर पुग्दैन । यसरी गरिएको लेखा परीक्षणमा त्रुटि हुने सम्भावना धेरै नै हुन्छ । यसर्थ, मेरै गाउँठाउँमा भएको सार्वजनिक कामको लेखा परीक्षण गर्ने अधिकार मलाई पनि हुनुपर्छ । यस्तो भयो भने राज्यलाई नै फाइदा पुग्ने हो ।”

साहित्यकार पुडासैनी अर्थशास्त्र, लेखाशास्त्रको प्रयोग प्राचीनकालदेखि नै साहित्यमा पनि भइरहेको र अब अझ दर्बिलो रूपमा यसका आयामहरूलाई साहित्य लेखनले समेट्नु पर्ने बताउँछन् ।

पूर्व नायब महालेखा परीक्षक पुडासैनी हाल आर्थिक व्यवस्थापन विज्ञका रूपमा त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन् । महालेखा परीक्षकको रूपमा काम गर्ने अवसर प्राप्त भएकै कारणले आफ्नो विद्यावारिधिको थेसिस लेखनमा ठूलो सहयोग मिलेको उनी बताउँछन् ।

नोबेल साकोस साहित्य संस्थाका संस्थापक सल्लाहकार तथा योजनाकार पुडासैनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री पदकबाट विभुषित छन् ।

साहित्यमा विशेषतः काव्य तथा गैरआख्यानको क्षेत्रमा कलम चलाउने पुडासौनी साहित्य जगत्मा दामोदर पुडासौनी ‘किशोर’ नामबाट परिचित छन् । कविता, निबन्ध तथा नियात्रा उनका रूचिका विषय हुन् । उनका ‘पहाड र प्रेम’, सिमानाका रङ सिमनाका तरङ्ग, मायालु हुम्ला, नमेटिएका चित्रहरूलगायत करिब दुई दर्जन कृतिहरू प्रकाशित छन् ।