२०७७ सालमा निस्किएका पुस्तकहरुमध्ये नवोदित लेखकको एउटा कृतिलाई साहित्यपोस्टले पुरस्कृत गर्ने भएको छ । पुरस्कारको राशी ५० हजार रुपैयाँ र सम्मानपत्र रहनेछ ।

आख्यान, गैरआख्यान तथा काव्यका विविध विधा/उपविधामा कलम चलाउन युवा पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ युवा साहित्य परिषद्ले गएको वर्ष घोषणा गरेको पुरस्कारको व्यवस्थापन गर्ने जिम्मा साहित्यपोस्टले लिएको थियो । सो पुरस्कार वर्ष २०७७ सालदेखि प्रदान गरिन लागेको हो । सम्मानको नाम साहित्यपोस्ट उत्तम कृति पुरस्कार रहेको छ । यससम्बन्धी गएको साता पुरस्कारदातासँग सम्झौता भैसकेको साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले जनाएका छन् ।

‘हरेक वर्ष बजारमा नयाँ लेखक थपिइरहेका हुन्छन्, तर कुन लेखकको कुन वर्ष यो क्षेत्रमा आधिकारिक पदार्पण भयो, लेखाजोखा राख्ने निकाय खासै देखिएन,’ कोइराला भन्छन्, ‘यदि लेखकको पहिलो कृतिलाई पुरस्कृत गर्ने हो भने यसको आधिकारिक तथ्याङ्क राख्न सकिन्छ । यसले नवोदित लेखकको पहिचान, उनीहरुको उन्नयन र प्रोत्साहनको बाटो पनि खुल्छ ।’

आफू पनि कुनै बेला नवोदित लेखक भएका कारण यसको दुःख आफूले महसुस गरेका कारण नवलेखकको कृतिलाई पुरस्कार गर्ने सोच आएको कोइरालाले बताए ।

साहित्यपोस्टले जारी गरेको प्रेस व्यक्तव्यअनुसार पुरस्कार आगामी वैशाख २५ गते प्रदान गरिनेछ । यसका लागि अहिले नव लेखकहरुका वर्षभरि निस्किएका पुस्तकहरुको अध्ययन एवं संकलन भइरहेको छ । वर्षभरि निस्किएकामध्ये सुरुमा उत्कृष्ट १० पुस्तकको घोषणा वैशाख ५ गते हुनेछ । ती पुस्तकलाई साहित्यपोस्टका १० जना लेखक–स्तम्भकार एवं ५ जना विधागत सम्पादन मण्डलको समूहले अन्तिम निर्णय गर्नेछ । आगामी वैशाख १२ गते साहित्यपोस्ट उत्तम कृतिको नाम घोषणा गर्ने योजना रहेको छ। साहित्यपोस्टको वार्षिक उत्सवका दिन (जेठ १२ गते) उक्त कृतिका सर्जकलाई सार्वजनिक समारोहमा ५० हजार रुपैयाँ एवं ताम्रपत्रले सम्मान गरिने बताइएको छ ।

विज्ञप्तिअनुसार पहिलो एकल एवं मौलिक कृति मात्रै पुरस्कारका लागि योग्य हुनेछन् । नेपाली भाषामा लेखिएको एवं नेपालभित्र वा बाहिर बस्ने नयाँ लेखक यो दायरामा पर्ने बताइएको छ ।

‘हामीसँग नव लेखकका २३ कृति प्राप्त भइसकेका छन् । अरु पुस्तकको खोजी भइरहेको छ,’ प्रधानसम्पादक कोइराला भन्छन्, ‘सकेसम्म कुनै पनि पुस्तक नछुटुन् भन्ने हिसावले खोजी र अध्ययन भइरहेको छ ।’

पुरस्कारको सौजन्य उत्तमप्रसाद पन्तले गरेका हुन् । पन्त राणाकालमा जलसमाधि लिएकी क्रान्तिकारी नेतृ योगमायाका अध्येता हुन् । उनको अनुसन्धानमूलक कृति ‘योगमायाधाम’ प्रकाशित छ भने योगमायाका चेलाहरुले लेखेका केही महत्त्वपूर्ण पुस्तक प्रकाशनको तयारी भइरहेको छ । साहित्यकार पारिजातको निर्देशनअनुसार पन्तले २०४१ देखि २०५२ सालसम्म योगमायाको प्रभाव क्षेत्रमा गएर अध्ययन गरेका थिए ।

‘लामो समय पारिजात दिज्यूको संगत गरेका कारण मलाई नेपाली साहित्यको अवस्था राम्रोसँग थाहा छ,’ पन्त भन्छन्, ‘नयाँ पुस्तालाई भाषा र साहित्यको क्षेत्रमा प्रोत्साहन गर्ने यो सुनौलो मौका हो भन्ने मैले महसुस गरेको छु ।’

साहित्यपोस्टले प्रेस विज्ञप्तीमार्फत नवलेखकका कुनै पुस्तक लेखिएको भए यहि समाचारलाई आधार मानेर जानकारी गराइदिन पनि अनुरोध गरेको छ ।