सांग्रिला बुक्सले सर्वमान्य नेता गणेशमान सिंहको बारेमा उहाँकी छोरी डा. मीता सिंहद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘The Struggle Of Ganeshaman Sing’ को कभर सार्वजनिक सार्वजनिक गरेको छ ।

चैत्र २६, २०४६ सालको जन-आन्दोलन सफल भएको दिनको सम्झनामा पुस्तकको कभर सार्वाजनिक गरिएको हो । प्रजातन्त्रको पुनःस्थापनाको लागि भएको ४६ सालको जनआन्दोलन सर्वोच्च नेता गणेशमान सिंह कै नेतृत्वमा भएको थियो ।

यो पुस्तकले नेपाली राजनीति र समाज रुपान्तरणमा गणेशमान सिंहको योगदान र संघर्षको बारेमा नयाँ पुस्तालाई समग्र जानकारी दिलाउने उद्देश्यका साथ लेखिएको डा. मीता सिंहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, यस पुस्तकले प्रतिकूल अवस्थामा आन्दोलनको नेतृत्व गरिरहनुभएको नेता गणेशमान सिंहको बारेमा मात्र नभएर पिता गणेशमानको अर्को पाटो पनि उजागर गरिएको छ । प्रजातान्त्रिक समाजवादका लागि गणेशमानले सन् १९३६ देखि १९९७ सम्म गरेको संर्घषको कथा यस पुस्तकमा अटाएको छ ।

पुस्तक पढिसक्दा विशेष गरेर युवापुस्ताले प्रजातन्त्रका आधारभुत मूल्य मान्यता बुझ्ने र राजनीतिमाथि आम जनताको अपेक्षा निराशामा परिणत भएको यो समयमा फेरि आशाको गति दिने विश्वास रहेको डा. सिंहले बताउनु भएको छ ।

सरल भाषामा लेखिएको यो ऐतिहासिक पुस्तक जानकारीमूलक र संग्रहनीय रहेको प्रकाशक साङ्ग्रिला बुक्सले जनाएको छ । पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा छिट्टै बजारमा आउने जनाइएको छ ।

पुस्तकका बारेमा लेखक डा. सिंह भन्नुहुन्छ, ‘मैले यो किताब विशेष गरेर युवापुस्तालाई नेपालमा प्रजातन्त्र रातारात आएको होइन भनेर बुझाउन लेखेकी हुँ । लामो संघर्ष र धेरैको बलिदानीले आएको प्रजातन्त्रको कदर गर्दै यसका लागि लड्नेहरुप्रति हामीले सम्मान देखाउनुपर्छ । ३१ वर्षअघि आजकै दिन चैत्र २६ गते २०४६ सालको जनआन्दोलन सफल भएको दिनमा त्यस आन्दोलनका सुप्रिम कमाण्डर जननेता गणेशमान सिंहलाई सम्झिरहेकी छु । खुलामंचमा लाखौंको संख्यामा उपस्थित उत्साही जनतालाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो – राजनीतिक आन्दोलनको सफलतापिछ अब आर्थिक क्रान्ति हुनुपर्छ र हाम्रो सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ ।’