कवि, लेखक तथा पत्रकार हरि अधिकारीद्वारा लिखित ‘संकलित गद्यरचना’को शनिवार राजधानीमा लोर्कापण गरियो ।
वरिष्ठ साहित्यकार धुव्र सापकोटाले कृतिको विमोचन गर्दै नेपाली गद्य साहित्यका लागि अधिकारीको कृति महत्वपूर्ण दस्तावेज भएको टिप्पणी गरे । अधिकारीको लेखन कलालाई आफूले धरै पहिलेबाट चिनेको प्रसङ्ग उल्लेख गर्दै सापकोटाले लालित्यपूर्ण भाषामा लेखिएका उनका लेखहरूबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताए ।
अमेरिकाबाटै लिखित मन्तव्य प्रेषित गरेका अधिकारीले आफूले रच्ने साहित्यमा नेपाली भाषाको मौलिकता, सौन्दर्य र लालित्यको मर्यादा कायम रहोस् भन्ने कुरामा आफू सचेत रहँदै आएको बताए ।
कार्यक्रममा समालोचक शरच्चन्द्र वस्तीले अधिकारीको लेखनशैली उच्च कोटीको रहेको भन्दै कृतिमा सङग्रहित सबै रचनाहरूको विशिष्ट महत्व रहेको बताए । इतिहासका पात्रहरूको सजीव चित्रणले कृतिलाई पठनीय बनाएको उनले बताए । ‘नेपाली साहित्य मात्र होइन राजनीतिमा रुचि राख्नेका लागि पनि कृति पठनीय छ,’ वस्तीको भनाइ थियो ।
साहित्यकार धुव्र मधिकर्मीले कुनै पनि विषयमा निर्भिक भएर लेख्नु नै बहुप्रतिभाशाली अधिकारीको लेखकीय विशेषता भएको धारणा राखे ।
समालोचक राजकुमार बानियाँले अधिकारीको लेखलाई ‘दृश्यमान शब्दहरूको मोहक नृत्य’ को संज्ञा दिँदै लेखन दुनियाँमा कसैले पनि अधिकारीलाई नजरअन्दाज गर्न नसक्ने दाबी गरे ।
पत्रकार तथा लेखक निर्मल अर्यालले भाषामा बेजोड पकड भएका अधिकारी नेपाली साहित्य तथा पत्रकारितामा धेरैका लागि ‘रोल मोडल’ भएको धारणा राखे ।
प्रकाशक आशुतोष अधिकारीले सबैको साथ सहयोगबाट नै छोटो समयमा कृति प्रकाशनमा ल्याउन सकिएको बताए । राजनीति, साहित्य, यात्रा संस्मरण, व्यक्तित्व चर्चा, संस्मरण सहित कृतिमा विभिन्न शीर्षकमा २३ वटा निबन्ध सङग्रहित छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला