साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

श्रद्धाञ्जली सभा सम्पन्न

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्ष स्व. हिमलाल ज्ञवालीको सातौँ दिनको पुण्य तिथिमा लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा आज चैत २१ गते श्रद्धाञ्जली सभा सम्पन्न गरियो ।

७३ वर्षको उमेरमा चैत १५ गते गंगालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा उहाँको दु:खद् निधन भएको थियो ।

प्रेमनारायण ज्ञवाली र मानकुमारी ज्ञवालीको कोखबाट २००५ साल माघ १ गते रुरु- १, भटकुवा टाकुरा, गुल्मीमा जन्मनु भएका हिमलाल ज्ञवालीको प्रारम्भिक शिक्षा रिडीमै भयो। शिक्षामा उहाँ स्नातक हुनुहुन्थ्यो ।

उहाँका तीन छोराछोरीहरूमा विक्रम ज्ञवाली, सुरेश ज्ञवाली र सिर्जना ज्ञवाली हुनुहुन्छ ।

२०२४ सालमा रिडीमा आयोजित अन्चल स्तरीय कविता प्रतियोगितामा प्रथम भई पुरस्कार पाएपछि उहाँ नेपाली साहित्यमा प्रवेश गरेर साहित्य सर्जनातिर लाग्नुभयो । तीसको दशकदेखि पत्रकारितामा जमेर लाग्नुभयो । त्यो समयमा पञ्चायती व्यवस्था उत्कर्षमा थियो । २०३५ सालतिर “त्रीवेणी” द्विमासिक र २०३६ सालमा “लाली गुराँस” साहित्यिक मासिक दर्ता गरी साहित्य सेवामा निरन्तर लाग्नुभएको उहाँ २०६४ सालमा “लाली गुराँस”को माध्यमबाट नवलपरासीका लेखक साहित्यकार र पत्रकारहरूको परिचयात्मक पुस्तक प्रकाशन गर्नुभयो ।

साहित्य, लोकसङ्गीत, शिक्षा र सञ्चारको विकासका लागि “प्रेमा वाङ्मय प्रतिष्ठान” गठन गरी निरन्तर अघि बढ्नु भयो । यो संस्था माता र पिताजीको स्मृतिमा पहलो अक्षर लिएर गठन गरिएको हो ।

२०६९ साल भदौ १ देखि पुरानो संरचनाअनुसार लुम्बिनी अञ्चलका ६ जिल्लालाई केन्द्र मानेर लुम्बिनी वाङ्मय प्रतिष्ठान गठन गरिएकोमा २०७२ को संविधानले मुलुकलाई सङ्घीय मोडलमा लगिएकाले २०७५ सालमा लुम्बिनी, राप्ती र भेरी अन्चलका साहित्यिक संस्थाहरू समावेश गरी प्रदेश स्तरको संस्था व्यवस्थित गरिएको छ । अहिले यसको बाह्रै जिल्लामा जिल्ला समितिहरू क्रियाशील छन् ।

उहाँको व्यक्तिगत पहलमा प्रेमा वाङ्मय प्रतिष्ठानमा साहित्य, लोकसङ्गीत, शिक्षा, सञ्चार कोष स्थापना गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका तर्फबाट साहित्य विकास कोष स्थापना गरिएको छ ।

हिमलाल ज्ञवाली १० भन्दा ज्यादा साहित्यिक संस्थाहरूमा आजीवन सदस्य हुनुहुन्थ्यो । कपिलवस्तु जिल्लाको कपिलधाममा उहाँको १५ लाख लगानीमा एउटा वाङ्मय भवन बनेको छ । सो भवनमा लुम्बिनी वाङ्मय प्रतिष्ठानको केन्द्रीय कार्यालय छ । कपिलधाममा साहित्य तीर्थ स्थापना भएको छ । जहाँ १०१ स्वर्गीय साहित्यकार, कलाकार र संस्कृतिमा योगदान दिएका स्रष्टाहरुको शालिकहरू निर्माण हुँदैछ ।

उहाँका दुई वटा कृतिहरू प्रकाशित भएका छन् । ती कृतिहरुमा “आफ्नै देश आफ्नै परिवेश” गद्य कविता सङ्ग्रह २०७३, “समय समयका कुरा” २०७७ प्रकाशित छन् । यसबाहेक एउटा “विकासका लागि सञ्चार” पुस्तक प्रकाशोन्मुख अवस्थामा छ । उहाँका फुटकर सयौँ लेखहरू रहेका छन् ।

चैत २५ गते ११औं दिनको पुण्य तिथिमा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय कपिलधाम, कपिलवस्तुमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको कुरा प्रतिष्ठानका महासचिव ऋषि आजादले जनाउनु भएको छ ।

चोपनारायण बञ्जाडे

प्रतिक्रिया
Loading...