महिला दिवसलाई मध्यनजर गर्दै महिला सर्जकहरूलाई विशेष सम्मान गर्ने उद्देश्यका साथ श्रष्टा साँझ अमेरिकाले महिला सर्जकहरूमात्र सहभागी रहेको लघुकथा वाचन कार्यक्रम जुम प्रविधिमार्फत सम्पन्न गरेकाे छ । चर्चित साहित्यकार मञ्जु काँचुली तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लघुकथा लेखनमा सक्रिय रहेका महिला सर्जकहरू रञ्जीश्री पराजुली, मन्दिरा मधुश्री, राधा दुलाल कार्की, ममता मृदुल, सीता विष्ट कार्की, इन्दिरा देवकोटा, निर्मला बराल, हेमलता उप्रेती, सत्या अधिकारी, प्रभावदेवी पौडेल, नानी बिबु रचना शर्माले आआफ्ना लघुकथा वाचन गर्नुभएकाे थियो ।
उक्त कार्यक्रममा श्रष्टा साँझका सभापति प्रभात दिक्षितको पनि उपस्थिति रहेको थियो । कार्यक्रमलाई थप रोचक पार्न प्रमुख अतिथि मञ्जु काँचुलीले पनि आफ्नो लघुखथा वाचन गर्नुभएको थियो । फेसबुकमा लाइभ गरिएको उक्त कार्यक्रमको सहजीकरण श्रष्टा साँझ अमेरिकाका लघुकथा कार्यक्रम संयोजक विश्वराज अधिकारीले गर्नुभएकाे थियो ।
कार्यक्रम सञ्चालनको क्रममा लघुकथा लेखनमा लागेका नवकिशोरी एवं किसोरीहरूले आफ्नो रचना (लघुकथा) मा महिलासम्बन्धी कुनै खास मुद्दा उठाउनु पर्ने छ कि भनी कार्यक्रमका सहजकर्ताद्वारा प्रमुख अतिथिलाई सोधिएको प्रश्नमा “कार्य क्षेत्र, घर, सार्वजनिक स्थल जस्ता स्थानहरूमा महिला र पुरुष बिच हुने विभेदलाई प्रमुख मुद्दा बनाएर त्यस मुद्दामा अझै खुलेर एवं प्रभावकारी किसिमले किसोरीहरूले लेख्नु पर्ने’ भनी प्रमुख अतिथिबाट उल्लेख भएको थियो ।
नेपालमा महिला वाक् स्वतन्त्रताको स्थिति अन्य विकसित मुलुकहरूभन्दा कम नभएकोले यो अवसरको अधिक्तम उपयोग गर्न लेखनमा महिलाहरुले आफ्नो सक्रियता र सृजनशीलता अझै वृद्धि गर्न सहजकर्ताले महिला सर्जकहरूसँग अनुरोध गर्नुभएकाे थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

