नेपालमा साहित्यकारको समूह पहिल्यैदेखि सक्रिय थियो । उनीहरुले विभिन्न आन्दोलनहरु चलाएका थिए । तर संगीत क्षेत्रमा यस्तो समूह सक्रिय थिएन । हुन त साहित्यकार र संगीतकर्मीहरुबीच नजिकको नाता छ । अझ भनौँ, कतिपय एउटै व्यक्ति दुई क्षेत्रमा सक्रिय थिए । त्यै पनि संगीत क्षेत्रसँग नजिक भएका सबै व्यक्तिहरुको एउटै भेला गर्ने र त्यसको संस्था खोल्नुपर्ने कुरा योजनामै सीमित भइरहेको थियो ।
यसका लागि अघि आउनु भयो, साहित्यकार एवं सिनेकर्मी प्रकाश सायमी । उहाँले तत्कालीन कान्तिपुरका स्टेसन प्रमुख शरदराज गौतमसँग सल्लाह गरेर काम अघि बढाउनु भयो । लगातारको प्रयासले अन्ततः भेला हुने दिन जुर्यो, आज अर्थात २०५६ साल वैशाख २५ गते ।
त्यो बेला आजको जस्तो मोबाइल वा फेसबुक कल्पना बाहिरको कुरा थियो । त्यसैले कुनै व्यक्तिलाई भेट्न उसकै घर पुग्नु पर्ने बाध्यता थियो । धेरैजसो संगीतकर्मीहरु डेरामा बस्थे । एक त उहाँहरुको डेरा थाहा नहुने, थाहा भए पनि जाँदा डेरा सरिसकेको हुने । यस्तो अवस्थामा २०–३० जनाको भेला गराउन सक्नु ठूलो उपलब्धि हुन्थ्यो ।
त्यै पनि बैशाख १ गतेदेखि दैनिक एक अर्काको डेरा वा घरमा गएर खबर छाड्ने काममा सबैले चासो देखाए । सौभाग्यवश त्यो भेलामा म कान्छो गीतकारका रुपमा सामेल हुने अवसर पाएँ ।
तस्विरमा पहिलो दीर्घामा मदनसिंह नेपाली, जीवराज, विज्ञान श्रेष्ठ, विजयसिंह मुनाल, रामा मण्डल, शोभा केसी, विमला राई, तारा थापा, मीरा राणा, मञ्जुल, नन्दकृष्ण जोशी, कुमार बस्नेत, पुष्कर जंगम हुनुहुन्छ ।
दोस्रो दीर्घामा राम थापा, दिनेश अधिकारी, शरदराज गौतम, करिण खरेल, प्रकाश सायमी, इश्वर वल्लभ, रत्न शमशेर थापा, शिवशंक मानन्धर, शम्भुप्रसाद मिश्र, दीपक जंगम, प्रेमध्वज प्रधान, कृष्णहरि बराल, पिएल श्रेष्ठ र मदन दीपविम हुनुहुन्छ ।
तेस्रो लहरमा निर्मला, शम्भुकुमार मिलन, चन्द्रमान माली, सुमीत खड्का, सुदेश शर्मा, भूपेन्द्र रायमाझी, शक्तिवल्लभ, श्रीपुरुष ढकाल, दीवाकर खड्का, कमल परियार, विश्ववल्लभ, देव बज्राचार्य, जिग्मे गोर्खे, जनकदीप पराजुली, राजेश प्रधान हुनुहुन्छ ।
आज २० वर्षपछि यी माध्ये केही व्यक्तिले हामीलाई छाडेर गैसक्नु भयो भने केही व्यक्ति रोग र वृद्धावस्थाका कारण नेपथ्यमा पुग्नु भएको छ । समय बद्लिए पनि यो तस्विरले आजको संघठित सांगितिक जीवनको सम्झना गराउँदछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

