विश्व प्रशिद्ध विश्वविद्यालय अक्सफोर्डमा छात्रवृत्तिमा साहित्य पढ्न पाउनु नै सौभाग्य हो । यसमा अझ ५६ लाख रुपैयाँ बराबरको छात्रवृत्ति पनि पाइन्छ भने त्यो संयोग कस्तो होला ? एक नेपाली विद्यार्थीका लागि भने यो सुखद संयोग जुरेको छ । यो सुखद संयोगको अनुभव गर्न पाउने भाग्यमानी नेपाली हुन्, चिरनराज पाण्डे ।
चिरनराजले अक्सफोर्ड विश्वविद्यालयमा करिब ५६ लाख रुपैयाँ बराबरको साहित्य लेखन अध्ययनको सुविधा पाएका हुन् । सन् २०२०–२०२१ को एक वर्षे कोर्षका लागि उनले यो रकम बराबरको अध्ययन सुविधा पाएका हुन् ।
संसारका १ हजार ५ सय भन्दा बढि आवेदकहरुको प्रतिस्पर्धामा उनी अब्बल ठहरिएको घोषणा अक्सफोर्डको साहित्य विभागले गरेको हो । उनले त्यहाँ विश्व साहित्यको अध्ययन गर्नुपर्नेछ ।
‘मलाई सानैदेखि ऐतिहासिक उपन्यासमा रुचि थियो । त्यही कारण मैले अक्सफोर्डमा अप्लाई गरेको थिएँ, सफल भएँ ।’ हाल अमेरिकामा स्नातकको परिक्षा सकेर बसेका चिरनले साहित्यपोस्टसँग भने, ‘यो एक वर्ष मेरालागि जीवनकै महत्वपूर्ण वर्ष हुनेछ भन्ने विश्वास लिएको छु ।’
उनी भविष्यमा दर्शनशास्त्री बन्न चाहन्छन् । अक्सफोर्डमा गरेको साहित्यको अध्ययनले भविष्यमा दर्शनशास्त्रमा सफलता पाउने उनको विश्वास छ ।
काठमाडौमा रहँदा उनी ब्रिटिस काउन्सिलको पुस्तकालयमा पुग्थे । त्यहाँ बालबालिकालाई साहित्य पढाउने ठाउँमा विश्व साहित्यका पुस्तक पढ्दा पढ्दै चिरनको यसप्रति रुचि बढेको सेतापाटी अनलाइन पत्रिकाले उल्लेख गरेको छ । यहि रुचिले उनलाई अक्सफोर्ड पुर्याएको उनका पिताले साहित्यपोस्टलाई बताएका छन् । उनका पिता चक्रराज पाण्डे प्रशिद्ध चिकित्सक हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।