आभा फर क्रिएटिभिटीले ‘ओपन माइक’को पहिलो शृंखला सम्पन्न गरेको छ। संस्थाले स्थापनाको सुरुवातबाटै लामो समयसम्म हरेक महिना ‘नियमित सिर्जना प्रवाह’ सञ्चालन गर्दै आइरहेकोमा विविध कारणले उक्त कार्यक्रम रोकिएपश्चात पुन: ‘ओपन माइक’ नामक साहित्यिक शृंखलालाई निरन्तरता दिएको हो।

शनिबार स्वयम्भूस्थित ह्वाइट रेबिट रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा हरिशरण अर्याल, अन्शु खनाल, प्रभात तिमिल्सिना, मोहित जोशी, नवीन शर्मा, रसिक राज, गीरबहादुर महरा, विमला राई, जीवन भट्ट, अनिला रिजाल, काव्या, राजु झल्लु प्रसाद, हेमन्त शिशिर, अच्यूत गौतम, सबिन अधिकारी लगायत कला-साहित्य अनुरागी व्यक्तिहरूले आ-आफ्ना रचना वाचन गरेका थिए।

“रचना सुन्ने-सुनाउने कार्यक्रमको रिक्तता महसुस गरेर पुनः हामीले ‘ओपन माइक’ संचालन गरेका छौँ। यस मन्च यहाँहरूकै निमित्त हो”, संस्थाका अध्यक्ष रसिक राजले भने, “ संस्थाले तीन-तीन महिनामा गर्दै आइरहेको ‘आभा काव्य लहर’ नामक शृंखलालाई निरन्तरता दिनेछ।”

यसपटक छुटेका सबै कला-साहित्य प्रेमीहरुसँग अर्को पटक भेट्ने अपेक्षा राख्दै राजु झल्लु प्रसादले कार्यक्रमको समापन गरेका थिए। अब हरेक महिना आभा फर क्रिएटिभिटीले नियमितरूपमा ‘ओपन माइक’ संचालन गर्दै जाने उनले जानकारी दिए।

‘आभा काव्य लहर’ नामक साहित्यिक शृंखला सन्चालन गर्दै आइरहेको संस्थाले पछिल्ला दिनहरूमा सबैखाले प्रतिगमनविरुद्ध स्रष्टा आन्दोलनसँगको सहकार्यमा ‘मार्चपास सहितको शव यात्रा’ र संसद्लाई खबरदारीस्वरुप वृहत् नागरिक आन्दोलनसँगको सहकार्यमा ‘लोकतन्त्र मार्च’ जस्ता कार्यक्रममा पर्फमेन्स आर्ट प्रस्तुत गरेको थियो।