समसामयिक राजनीति, सामाजिक विकृति, विसङ्गतिहरूलाई हाँस्य र व्यङ्ग्यमार्फत् प्रस्तुत गरिने हुँदा पछिल्लो समय कार्टुन विधा आम दर्शक र पाठकमाझ लोकप्रिय बन्दै गइरहेको छ । चित्रमार्फत् थोरै शब्दमा धेरै बुझाउन सक्ने भएकाले विश्वव्यापी रूपमै कार्टुन विधा राम्रो चर्चा र छाप बटुल्न सफल र सशक्त माध्यम बन्न पुगेको छ । यही कार्टुन विधाको नेपाली इतिहास र वर्तमानलाई केलाएर कलासमीक्षक, कलाकार, कार्टुनिस्ट एवं पत्रकार केशवराज खनालले पुस्तक लेखेका छन् ।

केशवराज खनाल

ललितकला पत्रकार समाजका अध्यक्षसमेत रहेका खनालद्वारा लिखित ‘नेपालमा कार्टुनः हिजो र आज’ पुस्तकको शुक्रबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, कलाकार रमेश खनाल, कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठलगायतले नक्सालस्थित प्रतिष्ठानको हलमा लोकार्पण गरे । पुस्तक प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागद्वारा अनुसन्धान गराई तयार पारिएको हो ।

कार्टुनकलामा देखिको पुस्तक अभावलाई यस पुस्तकले केहीहदसम्म पूर्ति गर्ने प्रतिष्ठानका कुलपति कर्माचार्यले बताए । ‘हुन त नेपालमा कार्टुन कलाको इतिहास धेरै लामो छैन । इतिहास जस्तो भए पनि उपलब्ध भएसम्म तथ्य-सत्यहरूको लिखित रुपमा डकुमेन्टेसन हुनुपर्दछ,’ उनले भने, ‘यस सम्बन्धमा व्यापक चर्चा हुनुपर्छ । र यस्तै विविध आयाम समेटेर पुस्तक प्रकाशन हुनु आवश्यक छ ।’
कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष श्रेष्ठका अनुसार नेपालको कार्टुनकला सिर्जनासम्बन्धी लेखिएका पुस्तकको अभाव छ । २०११ मा अमेरिका पुग्दा त्यहाँका लाइब्रेरीमा कार्टुनसम्बन्धी लेखिएका पुस्तकको छुट्टै कर्नर नै देखेको प्रसङ्ग सुनाउँदै उनले भने, ‘हामी कलाका क्षेत्रमा भौतिक रुपमा मात्रै होइन, बौद्धिक रुपमा पनि समृद्ध हुनुपर्छ ।’
पुस्तकका लेखक खनालका अनुसार कार्टुन विधामा खोजअनुसन्धान गर्नेमा पत्रकारिताका विद्यार्थीहरू धेरै छन् । अब यो पुस्तकले कार्टुन विधामा खोज्‍न चाहनेहरूका लागि थोरै भए पनि सहयोग पुग्ने उनको विश्वास छ । खनालले अध्ययनका क्रममा स्‍नातकोत्तर तहमा शोधको विषय पनि कार्टुन विधालाई नै रोजेका थिए । खोजअनुसन्धानका क्रममा यो विधा र विषयमाथि अत्यन्त थोरै पुस्तक र लेखहरू भेटिदा उनलाई यसबारे थप लेख्न बाध्य बनायो । त्यसैले यो विधामा लेख्नु आवश्यक ठाने ।