कवि तथा गीतकार कमला न्यौपानेको कविता कृति जङ्गलको यात्रा आइतबार एक भर्चुअल कार्यक्रमका बीच विमोचन भएको छ । मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले प्रकाशन तथा आयोजना गरेको उक्त कार्यक्रममा कवि तथा गीतकार डा. नवराज लम्साल, कवि तथा कथाकार बिना थिङ र कवि राधिका कल्पितले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।
विमोचनमा कृतिबारे बोल्दै डा. लम्सालले पहिलो कृति भएर पनि यतिको सशक्त हुनु निकै ठूलो कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कृतिले कमला न्यौपानेलाई नेपाली कविताको मूल सडकमा ल्यायो । अब निरन्तर हिँड्नु पर्नेछ र यात्रा पूरा गर्नुपर्नेछ । यो यात्रा पूरा गर्न कमला न्यौपाने सक्षम देखिनु हुन्छ ।”
कवि तथा कथाकार बिना थिङले आफूले पछिल्लो समय आख्यान गैह्रआख्यानका किताबहरू पढिरहेको र लेखिरहेको तर यो कविता कृति पढेपछि पुनः कवितामै फर्किन जोश मिलेको बताउनु भयो । केही कविता उद्धरण गर्दै उहाँले एकदमै नया बिम्ब र सरल कविता भएको एक सुन्दर कृतिको रुपमा जङ्गलको यात्रालाई व्याख्या गर्नुभयो ।
त्यस्तै कवि राधिका कल्पितले आख्यानात्मक शैलीमा लेखिएका सरल तर असाध्यै राम्रा कविताहरू सङ्ग्रहित भएको कृति भन्नुभयो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष जीवन खत्रीले कृतिका लागि निकै मेहनत गरेकाले प्रतिकृया राम्रो हुने विश्वास व्यक्त गरे । कल्पना तामाङले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा स्रष्टाले समेत खुसी व्यक्त गर्नुभयो ।
मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले प्रकाशन गरेको कृतिलाई कवि जीवन खत्रीले सम्पादन गरेका हुन् । कृतिमा यथार्थको धरातल, पसिनाको निलो, समुन्द्र पारि र प्रेमको फूल गरी चार उपशीर्षकमा विभाजन गरिनुका साथै प्रत्येक उपशीर्षकमा कलाहरू समेत समावेश गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।