पत्रपत्रिकामा समसामयिक विषयका लेख, कथा र निबन्ध लेखनमा सक्रिय प्रभा बराल आफ्नाे पहिलाे उपन्यास फिलिङ्गो शुक्रबारदेखि बजारमा आउने भएकाे छ ।  यस उपन्यास बजारमा आइसकेकाे अवस्थामा शुक्रबार एक कार्यक्रमका बीच विमाेचित हुन लागेकाे हाे ।

फिलिङ्गो महिलाको आत्मसम्मान र आत्मनिर्णयको विषयमा आधारित उपन्यास हो । यस उपन्यासले जापान र नेपाली भूमिकाे कथाव्यथालाई समेटेकाे छ । दुवै देशका विभिन्न सांस्कृति सन्दर्भ पनि उपन्यासमा पाउन सकिन्छ ।  यस उपन्यासका माध्यमबाट बरालले पुरूष सत्तासामु केही गम्भीर र साेचनीय प्रश्नहरू खडा गरेकी छिन् ।

वैवाहिक सूत्रमा आबद्ध भएपछि पुरुषले समझदारी र समानताका नैतिक पर्खाल किन निर्धक्कसँग नाघ्छ ?  त्यही पर्खाल महिलाले नाघ्दा ऊमाथि किन बाइफाले र अझै निकृष्ट शब्दको ट्याग भिराइन्छ? महिलाले सधैँ अन्याय, अत्याचार, विभेद, दमन र हिंसा किन सहिरहनुपर्ने ? सदियौँदेखिको विभेदलाई महिलाले प्रश्न गर्न पाउने कि नपाउने ?, यस्तै गम्भीर र सामयिक प्रश्नहरूको उत्तर फिलिङ्गोमा खोजिएको छ ।

प्राध्यापनमा संलग्न बरालका यसअघि आत्महत्याको जङ्गल (नियात्रा), शब्दहरू अविराम यात्रामा (संयुक्त कविता संग्रह), तृष्णाको पहाड (गजल संग्रह), असिनाको कथा (बालकविता संग्रह) प्रकाशित छन्।