कौशला लामिछानेको छैटौं स्मृति दिवसमा उनीद्वारा नै लेखिएको कथासंग्रह ‘आमा भएको भए’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्राज्ञ माया ठकुरी तथा साहित्यकार युवराज नयाँघरेले कृति लोकार्पित गरे ।
पुस्तक लोकार्पित गर्दै प्रमुख अतिथि माया ठकुरीले कौशला लामिछानेले अलका अस्पतालमा बिताएका अन्तिम दर्दनाक क्षणहरूको स्मरण गर्दै उनको यस कथासंग्रहमा समेटिएका कथाहरू अब्बल दर्जाका रहेको दाबी गरिन् । उनले कौशलाको अल्पायुमै भएको निधनले नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति भएको बताइन् ।
साहित्यकार युवराज नयाँघरेले दिवंगत कौशला लामिछानेसँगको भेटघाट र भलाकुसारीको स्मरण गर्दै उनको लेखनीको प्रशंसा गरे । लेखक माधव घिमिरे ‘अटल’ले सार्वजनिक कृतिको समीक्षाको जिम्मा पाठकलाई छोड्दै युवा पुस्ताले कृति पढ्नैपर्ने बताए ।
कौशला लामिछाने स्मृति कोषका अध्यक्ष राजेन्द्रमान डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भाग्यशाली अधिकारी, कृष्णकिशु न्यौपाने लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बलराम दाहाल, भैरवी भूगोल, निर्भीकजंग रायमाझी, नारायण निरासी, श्रीहरि फुयाँल, रेजिना आपागाई, गणेश खतिवडा, प्रभाती किरण, समाश्रीलगायतका कविहरूले रचना वाचन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।