ज्योति साहित्य प्रतिष्ठानको १७७औँ कवितायात्रा भर्चुअल माध्यमबाट सम्पन्न भयो । अध्यक्ष मणिराज सिंहको सभापतित्वमा प्रमुख अतिथि प्रा.डा. खगेन्द्र लुइटेल, विशिष्ट अतिथि साहित्यकार स्रष्टा डा. विदुर चालिसे र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीको उपस्थिति रहेको थियो ।
त्यस्तै अतिथि कविहरू जनार्दन अधिकारी धड्कन,अशोक घिमिरे, ललिता दोषी, लक्ष्मी बडाल, महेश खरेल, द्वारिका कुँइकेल, रेणु घिमिरे (सिरहा), बाबुराम न्यौपाने उत्स (दमक), निर्मल पराजुली, गंगा आचार्य सापकोटा, सङ्गीता ठाकुर, लक्ष्मी रायमाझी खड्का (विराटनगर), देविका मंग्रान्ती राई (दार्जलिङ्ग) ,सरीता भट्टराई नेपाल (विराटनगर), आर्त आकुलिन(कैलाली), चन्द्रावती अधिकारी (लमही), सीता कार्की विष्ट, शारदा आचार्य, राजेश्वरी काफ्ले (लालबन्दी), मीरा काफ्ले पोखरेल ( झापा), अदिती श्रेष्ठ, उर्मिला पन्त, विमला अधिकारी देवकोटा लगायत अन्य कविहरुले कार्यक्रममा कविता, गीत, गजल, मुक्तक, सुसेली, खोरीया, उदक वाचन गरी सहभागिता जनाउनुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडीले अनेसास नेपालको गतिविधिमाथि प्रकाश पार्दै आगामी २०७८ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन चितवनको सौराहामा हुने जानकारी दिँदै आजको कार्यक्रममा भाग लिन पाउँदा खुशी लाग्यो भन्दै एउटा कविता वाचन गर्नुभयो ।
प्रमुख अतिथि प्रा.डा. खगेन्द्र लुइटेलले कविता लेख्नु राम्रो कुरा हो तर त्यसमा स्तरीयता दिन सक्नुपर्छ। कवितामा कवित्व हुनु आवश्यक भएकोले कविहरूले त्यसतर्फ गम्भीर हुनै पर्छ भन्दै आगामी कार्यक्रमहरूमा आआफ्ना रचनाहरू सुधारेर जान सहभागीहरूलाई सुझाव दिनुभयो।
कार्यक्रममा दार्जलिंगदेखि नेपालका विभिन्न भूभागका कविहरू भर्चुअल माध्यमबाट जोडिएकोले कार्यक्रम आकर्षक भयो भन्नू भयो। कार्यक्रममा उहाँले एउटा आकर्षक मुक्तक समेत सुनाउनु भयो।
विशिष्ट अतिथि सह प्राध्यापक डा बिदुर चालिसेले कार्यक्रममा विभिन्न किसिमका रचनाहरू वाचन भएकोमा खुसी व्यक्त गर्नु हुँदै रचनाहरू आकर्षक भएको तर केही रचनाहरूमा सुधार गर्नु पर्ने देखिन्छ भन्नू भयो ।
कार्यक्रममा सभापति मणिराज सिंहले एउटा कविता बाचन गर्दै ज्योति साहित्य प्रतिष्ठानको कार्यक्रम प्रत्येक महिनाको पहिलो शुक्रवार ठीक ४ बजे भर्चुअल माध्यामबाट भइरहेको बताउँदै आफ्नो अमूल्य समय निकालेर विभिन्न ठाउँबाट स्रष्टा जोडिनु भएर कार्यक्रम सफल बनाइ दिनु भएकोमा सबैलाई धन्यवाद दिँदै प्रमुख अतिथी डा लुइटेल, डा चालिसे र पहाडीको उपस्थितिप्रति आभार प्रकट गर्दै कार्यक्रम विसर्जन गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।