देशभित्रका कारागारभित्र पुस्तकालय स्थापना गरिरहेको राष्ट्रिय पुस्तकालय अभियानले, पुस्तकालय स्थापना गरिसकेका कारागारमा पुस्तक छलफल तथा विमर्श श्रृङ्खला सुरु गरेको छ।
यस अभियानले यही कात्तिक ३० गते पुस्तकालय स्थापना गरेको जिल्ला कारागार कपिलवस्तुमा कारागार प्रमुख राकेश पाण्डे, दुईवटा छुट्टाछुट्टै ब्लकका लाइब्रेरियन(पुस्तकालय नाइके) दावा लामा र रवि भट्टराई तथा कारागारभित्रका नियमित पाठक मध्येका डा. दीपेन्द्र, प्रितम चौधरी, अरुण थापा र दुजमान सुनारसँग उहाँहरूको अध्ययन तथा काराभित्र रहेर पढिरहँदाका अनुभवहरूबारे प्रश्न गरिएको थियो।
कारागारको ब्लक १ मा रहेका १७५ जना कैदीबन्दीहरूमध्ये पुस्तकालय नाइके रवि भट्टराईले लिएको तथ्याङ्कअनुसार ५५ जना नियमित पाठक रहेका छन् । सो सङ्ख्या मध्येका केहीले लेख्ने काम पनि गरेका थिए।
त्यसैगरी ब्लक २ का २१२ कैदीबन्दीमध्ये १०० ले जना नियमित अध्ययन गर्ने पुस्तकालय नाइके दावा लामाले जनाउनुभयो । मागअनुसार पुस्तक उपलब्ध गराउनसके यो सङ्ख्या अझै बढ्न सक्ने पनि उहाँको धारणा थियो ।
राष्ट्रिय पुस्तकालय अभियानका संयोजक हरिप्रसाद खनालका अनुसार यो सङ्ख्या आशा गरेभन्दा राम्रो हो, भने आउँदा दिनहरूमा यसलाई अझै पनि बढाउन सकिन्छ।
कारागारभित्र रहेर नियमित पढ्नेहरू मध्येका धैरे त कारागारभित्र आएपछि मात्र पढ्न सुरु गरेको पनि बताउनुभएको थियो ।
तपाईँले पहिला पनि नियमित अध्ययन गर्नुहुन्थ्यो अथवा यहाँ यता आएपछि मात्र सुरु गर्नुभएको भनी प्रश्न गर्दा ब्लक १ का डा. सुरेन्द्र चौरसियाले भन्नुभयो , “म बाहिर हुँदा काममा नै व्यस्त हुन्थेँ, काम बाहेकको समय परिवारलाई पनि दिनुपर्यो । यहाँ आइसकेपछि केही समय ‘डिप्रेस्ड’ हुनेजस्तो पनि भयो तर अहिले भने किताब राम्रो साथी बनेको छ।”
दावा लामाको अनुभव भने भरक छ, “एसएलसी उत्तीर्ण गरL व्यापार सुरु गरेका उनले आफूलाई पहिलेबाट नै पढ्ने नशा थियो । हामीलाई कैदी भनेर सम्बोधन गरिए पनि हामीजस्तो स्वतन्त्र अरू कोही छैन (पढ्ने कुरामा)। बाहिर हुँदा एउटा पुस्तक सक्काउन पनि धेरै दिन लाग्थ्यो भने अहिले पढाइको कुरामा भने यो ठाउँले फाइदा नै पुर्याएको छ । पढ्ने कुरामा भने बाहिरभन्दा मलाई भित्र नै आनन्द आउँछ। मैले अहिलेसम्म यहाँ रहेर पढेका पुस्तकहरूमध्ये मन परेका र सम्झन लायक पुस्तकहरू दमिनीभीर, शिरीषको फूल, काठमाडौंमा एकदिन, जीत तपाईंको, थिङ्क एन्ड ग्रो रिच अनि अरू कविताका किताबहरू पनि रहेका छन्।’
पहिले शिक्षण पेशामा आबद्ध रहेका ब्लक १ का प्रितम चौधरीको अनुभव पनि त्यस्तै नै रहेछ भने ब्लक २ का अरुण थापा भने आफूलाई प्रेमकथाका पुस्तकहरू मनपर्ने बताउनुभयो । “साया, मेरी उनी, समरलभ मलाई धेरै मन परेका पुस्तक हुन्।” उहाँ पनि कारागारभित्र आएपछि मात्र पढ्न सुरु गर्नुभएकामध्ये एक हो ।
ब्लक २ का पुस्तकालय नाइके रोहित भट्टराई पढ्ने र नपढ्नेहरूमा फरक देखिने बताउनुहुन्छ । “पढ्नेहरू धेरै खुसी देखिन्छन्, सबैसँग सजिलै मिलेर बस्न पनि अप्ठ्यारो मान्दैनन् उनीहरूले आफ्नो जिम्माको काम राम्रोसँग गरेको देखिन्छ। एकदमै ठूलो फरक नदेखिए पनि उनीहरूमा आंशिक फरक भने देखिएको नै हुन्छ,” भट्टराईको भनाइ छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।